चितवन : जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको आयोजना तथा अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा सवारी दुर्घटनामा ज्यान गुमाएकाहरु प्रतिको सम्झना दिवस विविध कार्यक्रमहरुका साथ मनाइएको छ । सवारी दुर्घटनाबाट पीडित, पीडितका परिवार र समाजलाइ सम्झने दिनको रूपमा यो दिवसलाई लिने गरिन्छ । संयुक्त राष्ट्र संघले हरेक बर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्व सम्झना दिवस, सडक दुर्घटना पीडितका लागि मनाउने निर्णय २६ अक्टोबर, २००५ मा गरेको थियो । जस अनुसार नेपालमा पनि आइतबार मंसीर २ गते बिभिन्न कार्यक्रम गरी यो दिबस मनाइएको हो । रत्ननगर नगरपालिका, सुरक्षित र दिगो यात्रा नेपाल र रत्नप्रीय क्लबसँगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा आयोजित उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाका उप–प्रमुख यादव पाठक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय, रामनगरका प्रमुख, प्रहरी उपरीक्षक नरेश सुबेदी, रत्न नगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, बकुलहर रत्ननगर अस्पतालका प्रमुख मदन ज्ञवाली, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सवारी दुर्घटनामा ज्यान गुमाएका एवं पीडितहरुको सम्झनामा आयोजित उक्त कार्यक्रममा यस चितवन जिल्लामा गत बैशाख देखी आज सम्म सवारी दुर्घटनामा परि ज्यान गुमाएका ७६ जना ब्यक्तिहरुको सम्झनामा उहाँहरुको चिर शान्तिको कामना सहित मौनधारण तथा दुर्घटनामा घाईते भएकाहरु ७ सय ६ जनाको शीेघ्र स्वास्थ्य लाभको कामना सहित दीप प्रज्वलन गरिएको थियो । सडक र सडक सुरक्षासँग सरोकार राख्ने विभिन्न संघ संस्थाहरुको सहभागितामा संसारका सडकहरुमा ज्यान गुमाएका र गम्भिर घाईते भएका लाखौ मानिसलाई सम्झने र सबै प्रभावित पीडितहरु, परिवारहरु र समुदायहरुको पिडालाई स्वीकार तथा आत्मसात गर्ने, यस्ता पिडालाई हटाउन, घटाउन आ—आफ्नो तह, तप्काबाट प्रतिबद्ध रहने एक्याबद्धता जनाईएको थियो । सडकमा हुने मृत्यु, ठूलो मात्राको चोट पटक, यसको प्रभाव, असर अन्त्यका लागि आव्हान सहित एक प्रकारको नरसंहारको रुपमा रहेको सवारी दुर्घटना रोक्न ठोस वकालतका लागि समेत यो दिनको बिशेष महत्व रहेको छ । विश्व सम्झना दिवसले ति दुर्घटनाामा परेर ज्यान गुमाएका व्यक्ति, उनका परिवार, समाजलाई हामी सिङ्गो राष्ट्र उनीहरुको साथमा छौ भनेर दुख बाड्छौ, आउँदो दिनहरुमा त्यस्ता दुर्घटना हुन नदिन आफू पनि सजग हुने र अरुलाई पनि सजग बनाउने सङ्कल्प सहित सवारी दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसको सन्दर्भका अबसरमा दुर्घटनाका बखत तत्काल मानवीय सेवा प्रदान गर्ने आपतकालिन टोलीहरु, प्रहरी, चिकित्सक सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना सहित कार्यक्रम समापन गरिएको थियो ।