कुरिनटार । इच्छाकामना सव डिभिजन वन कार्यालयको उद्घाटन गरिएको छ। बागमती प्रदेशको एक करोड ५७ लाख ९३ हजार ९३५ रूपैयाँ लागतमा निर्मित उक्त भवनको शुक्रबार बागमती प्रदेशकै वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गरेका हुन्।
करिब १५ धुर जग्गामा निर्मित दुई तले भवन निर्माणको लागि आर्थिक वर्ष २०७९/०८० मा ठेक्का आव्हान भएको थियो। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार कूल दुई करोड ८८ लाख ९७ हजार ३४५ रूपैयाँ लागत अनुमानमा ठेक्का आव्हान भए पनि ठेकेदार कम्पनीसँग दुई करोड आठ लाख ५५ हजार ३७१ रूपैयाँमा सम्झौता भएको थियो।

तर, निर्माण सम्पन्न हुँदा एक करोड ५७ लाख ९३ हजार ९३५ रूपैयाँ मात्रै बिल भुक्तानी भएको उनले बताए।
सव डिभिजन कार्यालयको स्थापना भएसँगै जनताको सेवामा थप सहज पहुँच पुगेको डिभिजन वन चितवनका प्रमुख थीरबहादुर कार्कीले बताए। स्थापनाकालदेखि भाडामा बसेर काम गर्दा कर्मचारी आवास र कार्यालय सञ्चालनको लागि विभिन्न खालका कठिनाइ भोग्दै आएको भन्दै आफ्नै भवन निर्माण भएपछि यी सबै विषय सहज हुने उनले बताए।
इच्छाकामनामा सवडिभिजन स्थापना गर्नुमा कुनै सुरक्षा व्यवस्थापनको लागि नभई उपभोक्तालाई सेवा दिलाउने योजना रहेको उनको भनाइ छ। ‘सुरक्षाका हिसाबले इच्छाकामना संवेदनशील क्षेत्रभित्र पर्दैन,’ उनले भने, ‘केवल सेवा दिने हिसाबले मात्रै इच्छाकामनामा सव डिभिजन स्थापना गरेका हौं।’

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री सिलवालले भने कार्यालय मात्रै स्थापना गरेर सबै काममा सहज वातावरण नहुने हुँदा उपभोक्तासँग सहकार्य गरेर उपभोक्ताको हितमा काम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिए। ‘यहाँका जनतालाई वनकै माध्यमबाट आयआर्जन गराउन सक्ने वातावरण सिर्जना गरिनुपर्छ,’ उनले भने।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले पनि लामो समयदेखि भाडामा बसिरहेको सरकारी कार्यालयले आफ्नै संरचना पाएको भन्दै खुसी व्यक्त गरे। ‘अब आफ्नै भवनबाट सेवा दिन पाइने भएपछि कार्यालय र उपभोक्ता दुवैलाई सहज हुने भयो,’ उनले भने।
इच्छाकामना सव डिभिजनका प्रमुख कृष्ण शर्माका अनुसार चितवन जिल्लामा रहेका ४३१ वटा कबुलियती वनमध्ये इच्छाकामना सव डिभिजनअन्तर्गत मात्रै २०६ वटा वन पर्छन्।

यस्तै चितवन जिल्लाभर रहेका ९३ वटा सामुदायिक वनमध्ये इच्छाकामना सव डिभिजनअन्तर्गत २५ वटा पर्छन्। इच्छाकामना सव डिभिजनको कार्यक्षेत्रभित्र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाबाहेक सबै वडा र भरतपुर महानगरपालिकाको वडा नं।२९ मा रहेका सामुदायिक वन तथा कबुलियती वन पर्छन्।
दुई वन रक्षकलाई नगदसहित सम्मान
सोही अवसरमा डिभिजन वन कार्यालय चितवनले वन तथा वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै दुई जना सहायक वन रक्षकलाई नगदसहित सम्मान गरेको छ। सहायक वन रक्षक किशोर पाण्डे र गणेशबहादुर कार्कीलाई वनमन्त्री सिलवालमार्फत पाँच हजार राशिसहित सम्मान गरिएको हो।

प्रदेश मन्त्रालयका सचिव बराललाई बाटैमा स्वागत
बागमती प्रदेश मन्त्रालयमा हालै सरुवा भएर आएका सचिव डा केदार बराललाई बाटैमा स्वागत गरिएको छ। कर्णाली प्रदेशबाट सरुवा आएका डा बराल आफ्नो घर पोखराबाट कार्यभार सम्हाल्नका लागि बागमती प्रदेश कार्यालय आउँदै गर्दा मन्त्रालय पुग्न नपाउँदै सोही मन्त्रालयका मन्त्री कृष्णप्रसाद सिलवालसहित डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजन वन अधिकृत थीरबहादुर कार्कीलगायतले इच्छाकामनामै स्वागत गरेका हुन्।

मन्त्रालयका सचिव डा बराललाई इच्छाकामना सव डिभिजन वा कार्यालयको भवन उद्घाटनका क्रममा सोही कार्यक्रममा फूलमालाले स्वागत गरेका हुन्। डा बरालले शुक्रबार नै मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।