आँबुखैरेनी । तनहूँको आँबुखैरेनीमा बुधबार दिउसो दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यू, ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार मुग्लिनतर्फबाट डुम्रेतर्फ सवार ग १ ख ९४०२ नंबरको यात्रुबाहक बस आँबुखैरेनी २ र ३ जोड्ने खहरेखोलाको पुलनेरबाट खस्दा बसमा सवार १५ जनामध्य ११ जना घाइते भएका छन् ।
बुधबार अपरान्ह साँढेचार बजेतिर भएको सो दुर्घटनाका घाइते यात्रुको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । साथै आँबुखैरेनीकै नारीघाटमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल यात्रुको घटनास्थलमै मृत्यू भएको छ ।
बुधबार दिउँसो दुईबजेतिर ग १ ख ७१४५ नंबरको बस र विपरीत दिशातिरबाट आएको बा ९१ प २४६७ नंबरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक आँबुखैरेनीमा सुनचाँदी व्यवसाय गर्दै आएका अश्विन सुनारको मृत्यू भएको डिएसपी रायले जानकारी दिए ।