गोरखा, २५ माघ । धार्चे गाउँपालिका ४ लाप्राकका गाउँभरीका स्थानीय शनिवार मकैको बिहेमा जन्ती हिँडे । हरेक वर्ष जस्तै रोप्नु अघि यो साल पनि उनीहरुले मकैको बिहे गरिदिएका छन् ।
ढ्याङ्ग्रो, मादल, बाजागाजा बजाउँदै नाचगान गर्दै रातो, पहेँलो, रङ्गिचङ्गि कपडामा सजिएर बालवालिका देखि वृद्धवृद्धा सबै बिहेमा सरिक भए । गुरुङ समुदायका बाहुल्य रहेको लाप्राकमा मकैको बिहे नौलो नभएपनि अन्य सबैका लागि त्यो आश्चर्य लाग्ने खालको हुन्छ । उत्तरी गोरखाको लाप्राक उच्च हिमाली भेगमा पर्छ । त्यहाँको मुख्य खेती मकै हो । स्थानीयले मकै खेती राम्रो होस् भनेर साईतमा मकैको बिहे गरिवरी बारीमा छर्न तयार हुन्छन् । आईतवार देखि उनीहरुलाई फुर्सद हुँदैन । अब मकै लगाउने चटारो सुरु हुन्छ ।
यस अघि भने मकै कसैले पनि रोप्दैनन् । कारण बिहे नगरी रोप्नु हुँदैन भन्ने मान्यता चलिआएको स्थानीय मार्सिङ गुरुङले बताए । ‘यस वर्ष हिउँ र वर्षातले भने मकै बिहेको दिन अलि समस्या भयो’ उनले भने ‘तर जनताले खासै हिउँ पानीको महशुस यस्तो बेला गर्दैनन् ।’ बिहान ९ बजे सुरु भएको मकै बिहे साँझ ५ बजे सकिएको उनले बताए ।
साना बालवालिकालाई बेहुला, बेहुलीको रुपमा सिंगारिन्छन् । मकैको बिहेको प्रतिकको रुपमा उनीहरु लाई लिईन्छ । बिहेमा घरैपिच्छे एक जना अनिवार्य जाने चलन छ । जानेहरु सबैले एक घोगा वा एक मुठी मकै लैजान्छन् । जन्ती गएका सबैले लाप्राक गाउँलाई एक फन्को लगाउँछन् । बेहुलीको घर तोकिएको ठाउँ पुगेपछि जन्तीलाई बेहुली पक्षकाले बाटो छेक्छन् । पैसा तिरेपछि बेहुला जान पाउँछन् । जन्ती बजाजागा सहित पुगेकाहरु नाचगान गर्छन । सबैले लगेको मैकै एकै ठाउँमा जम्मा गर्छन । सबैको मकै मिसाउने र सुनपानी, गोबर तितेपातीले चोख्याउने चलन छ । ‘यसो गर्दा मकैमा घुन किरा लाग्दैन, चोखो हुन्छ भन्ने मान्यता हो’ लाप्राकका वडा अध्यक्ष राज गुरुङले भने ।
चोख्याएको मकै सबैले घर फर्कँदा बेलुकी एक, एक मुठी लिएर जान्छन् । त्यो मकै छर्ने बेला भएको मकैको बिउमा त कसैले भकारीमा राख्छन् । बिउ मकैमा मिसाएर रोप्ने गरिन्छ । ‘धेरै फल्छ, असिनापानीले खाँदैन भन्ने मान्यता छ’ अध्यक्ष गुरुङले भने । मकैको बिहे नाम दिएर लाप्राकीले गर्ने यो परम्परागत पुजा हो । यसलाई प्राकृतिक अर्थात बोन संस्कृतीका रुपमा लिने गरेको उनले बताए । मुख्य बाली राम्रो होस् भन्ने चाहनाले मकैको बिहेलाई संस्कृतीको रुपमा बिकास गर्ने योजना रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
दरौदी दैनिकबाट