आँबुखैरेनी । लागुऔषध कारोबारीलाई शून्य पार्ने अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले तीनजना कारोबारीलाई पक्राउ गरेको छ । आँबुखैरेनीको बाटो प्रयोग गरेर लागुऔषध ओसारपोसार पूर्णरुपमा बन्द गर्ने अभियानमा लागेको प्रहरीले सवारी साधन चेकजाँच गर्दा आइतबार तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्दा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको इप्रका आँबुखैरेनीका इञ्चार्ज इन्स्पेक्टर शिव थापाले जानकारी दिए ।
आइतबारको चेकजाँचमा मालिका गाउँपालिका वडा न. १ म्याग्दी घर भई पोखरा महानगरपालिका १४ बस्ने २३ वर्षका एबिन पुनसहित अन्य दुईजनालाई पक्राउ गरिएको थापाले जानकारी दिए ।
उनीहरुको साथमा लुकाइछिपाइ ल्याएको डाइजेपाम (दुई मिलिलिटर) को २० एम्पुल, फेनार्गन(दुई मिलिलिटर) को २० एम्पुल र बुप्रेनोर्फिन(दुई मिलिलिटर)को २० एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध बरामद गरिएको छ । त्यस्तै निट्राभेट १० लेखिएको १०५० ट्याब्लेट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले जानकारी दिए ।