Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नाम फेरेरै भएपनि नेसपासँग एकता गर्न माओवादी केन्द्र तयार

नाम फेरेरै भएपनि नेसपासँग एकता गर्न माओवादी केन्द्र तयार

इच्छाकामना न्युज

४, आश्विन २०८०
नाम फेरेरै भएपनि नेसपासँग एकता गर्न माओवादी केन्द्र तयार
images

काठमाडौँ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको छ।

images
images

गत भदौ ३० गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर गरी नेसपा अध्यक्ष महेन्द्रराय यादवलाई पत्र पठाइएको हो। नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई भारत भ्रमणमा भएका बखत अर्का अध्यक्ष यादवलाई पार्टी एकताका विषयमा पत्र पठाएको हो। जस कारण नेसपामा तरङ्ग पैदा भएको छ। पार्टी एकताका विषयमा नेसपा सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले २०७९ साल चैत ३ गते नौबुँदे प्रस्ताव लेखेर माओवादी संवाद समितिका संयोजक कृष्णबहादुर महरालाई बुझाउनुभएको थियो। नेसपाको पत्रको जवाफ लेखेर माओवादीले गत भदौ ३० गते एकता गर्न सकारात्मक रहेको प्रस्ट पारेको छ।

माओवादी केन्द्रका उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख जनार्दन शर्माले नेसपासँग एकता गर्न पार्टीको नाम फेर्न तयार भएको बताउनुभयो। “बाबुरामजी अहिलेकै अवस्थामा माओवादी केन्द्रसँग एकता गर्न तयार हुनुभएन। सबैका भावना र विचार समेट्न कोस्ठभित्रको माओवादी केन्द्र लेखेको फेर्न तयार भएका हौँ,” उहाँले भन्नुभयो, “पार्टीको नाम फेर्ने प्रस्तावले नेसपासहित अन्य कम्युनिस्ट घटकसँग एकता गर्न सहज बनाउँछ भन्ने विश्वास छ।”

पार्टीको नाम माओवादी केन्द्र फेरिए पनि नेपाल कम्युनिस्ट पार्टी अगाडि जोडिने पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताउनुभयो। उहाँले भन्नुभयो, “बाबुरामजी अहिलेकै माओवादी केन्द्रसँग एकता गर्न तयारै हुनुभएन। त्यसपछि नेकपा रहने गरी पार्टीको नाम फेर्न तयार भएका हौँ।” उहाँले माओवादी र नेसपाबिच पार्टी एकताका विषयमा पत्र आदानप्रदान भएकाले एकताले अन्तिम रूप छिट्टै लिने बताउनुभयो।

नेसपा केन्द्रीय सदस्य रोशन पोख्रेलले पार्टी एकता गर्नेभन्दा भाँड्ने गरी माओवादीबाट पत्र आएको भनी असन्तुष्टि व्यक्त गर्नुभयो। “हाम्रो पार्टीको पहिलो वरीयतामा बाबुराम सर हुनुहुन्छ। उहाँलाई सम्बोधन नगरी दोस्रो वरीयताका अध्यक्षलाई पत्र पठाइयो,” उहाँले भन्नुभयो, “माओवादी एकताबाट एकता गर्नेभन्दा नेसपामा खेलेर पार्टी फुटाउन खोज्नुभयो। यसले एकता हैन बिगार्न सक्छ।” गत मङ्सिर ४ गतेको चुनावलगत्तै माओवादी र नेसपाबिच एकता गर्ने समझदारी भएको थियो। त्यसैले डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा–२, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि छोड्नुभयो। त्यति बेला प्रचण्ड बाबुरामबिच बाबुरामलाई राष्ट्रपति बनाउने समझदारी भएको थियो। अन्तिममा प्रचण्डले बाबुरामलाई राष्ट्रपति प्रस्ताव नगरेपछि पार्टी एकता एकपछि अर्को गर्दै लम्बिँदै आएको छ।

नेसपाकै अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ माओवादीसँग तत्काल एकता गर्नुपर्ने भन्दै पार्टीभित्र दबाब बढाउनुभएको छ। अहिलेकै अवस्थामा नेसपा बलियो बनाउन नसकिने उहाँहरूले निष्कर्ष निकाल्नुभएको छ तर पार्टी एकता गर्न डा. बाबुरामसहित सबै नेता एकढिक्का नहुँदा टुङ्गो लाग्न सकेको छैन।

माओवादी नेसपासँग एकता टुङ्गो लगाएपछि समाजवादी मोर्चामा आबद्ध दलहरूसँग निकटता बढाउने नीति लिएको छ। मोर्चामार्फत घनिष्ठता बढाएर माओवादीको चार दलबिच एकता गर्ने दीर्घकालीन योजना छ।गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - ०८:३९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology