चितवन । गुरुङ समुदायको पहिलो बसोबास भएको दिनको रुपमा मनाउन थालिएको पितृ थलो स्थापना दिवस अर्थात तमू क्होला सों प्रे ट्हो चुवै दिना चितवनका गुरुङ समुदायले पनि जिल्लामा पहिलो पटक मनाएको छ । दिवसको अवसरमा पहिलो पटक तमू प्ये ल्हु संघ चितवनले आज एक कार्यक्रमको आयोजना गरि एकापसमा शुभकामना आदानप्रदान गरेर दिवस मनाएको हो । विशेष गरेर गुरुङ समुदायले साउने सक्रान्तीको दिन साउन १ गते यो दिवस मनाउने गरेको छ ।
संघको सल्लाहकार, पूर्व अध्यक्ष एवं संस्थापक कोषाध्यक्ष भिम बहादुर गुरुङको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्ष लालप्रसाद गुरुङले गरेका थिए । साथै कार्यक्रममा निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ, पूर्व वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
संघका जिल्ला सचिव नारायण गुरुङले संचालन गरेको कार्यक्रममा बोल्ने अतिथिहरुले आगामी दिनमा पनि यो दिवस मनाउनुपर्नेमा जोड दिए । संघले यो कार्यक्रम भरतपुर १० स्थित नौरङ्गेमा रहेको संस्थाको प्राङ्गणमा मनाएको हो ।
औपचारिक कार्यक्रम गर्नुभन्दा पहिले बिहानै कार्यक्रम स्थलमा रहेको क्होइवोमा धर्मगुरुहरुद्वारा धार्मिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।