काठमाण्डौ । सरकारले भिजिट भिसामा विदेश गएर काम गर्ने सोच नराख्न सबैसँग अनुरोध गरेको छ । सरकारले भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान अनुरोध गर्दै रोजगारको अपेक्षा नराख्न सुझाव दिएको हो ।
पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै गृह मन्त्रालयले भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने प्रस्ट पारेको छ ।
सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र रोजगारीको लागि जान अनुरोध गर्नुभयो ।
स्थानीय तहलाई समेत आफ्नो क्षेत्रभित्रको नागरिक विदेश भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरूको अभिलेखन तथा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने ब्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।