देवघाट, १७ असार । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले आज भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लागी ७ दिने र अव्यवस्थित बसोबासीको लागी १५ दिने सुचना प्रकाशन गरेको छ।
सो सूचना प्रकाशन पछि देवघाट ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले ५ नम्बर वडामा अव्यवस्थित बसोबासी तर्फ १४ सय ६६ जना, भूमिहीन सुकुम्बासीतर्फ ५९ जना र भूमिहीन दलित सुकुम्बासी तर्फ १९ जना रहेको बताउनुभयो। साथै वडा अध्यक्ष कुवारले सम्पुर्ण ५ वडा बासी जनसमुदायहरुलाई प्रकाशन भएको सुचना अध्यापन गरी समयमै आवश्यकता परे अध्यावधिक गराउनु हुन समेत अनुरोध गर्नुभएको छ।
साथै देवघाट गाउँपालिका स्तरीय भूमिहीन सहजीकरण समितिका सदस्य अर्जुन अधिकारीले देवघाट गाउँपालिका भित्रका दलित र भूमिहीन सुकुम्बासी,अव्यवस्थित बसोबासी समस्यालाई छिट्टै निराकरण गर्ने बताउदै वडा नम्बर ५ मा साउन महिना भित्र निष्सा वितरण गर्ने समेत जानकारी दिनुभयो।
सूचना प्रकाश कार्यक्रम देवघाट ५ वडा सदस्य बुद्धि बहादुर पाण्डे र याम बहादुर मगर, नेकपा एमाले देवघाटका पार्टी अध्यक्ष केशव चन्द्र न्यौपाने, नेपाली काङ्ग्रेस देवघाटका पुर्व सभापति बाबुराम पौडेल, देवघाट ५ वडा नेपाली काङ्ग्रेसका सभापति सोमनाथ ढकाल, वाइसीएल देवघाटका इन्चार्ज दुर्गालाल गुरुङ, तरुण दल देवघाटका अध्यक्ष बल बहादुर क्षेत्री, गाउँपालिकाका कार्यक्रम शाखा प्रमुख कृष्णराज पन्त र कालिका मा.वि.का शिक्षक युवराज साखी लगाएतको उपस्थिति रहेको थियो।