भुम्लिचोक, २४ जेठ । गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र सार्ने विषयमा फेरि विवाद देखिएको छ । अघिल्लो कार्यकालदेखि नै केन्द्रको विषयमा गण्डकीमा विवाद हुँदै आएको छ । हालै सम्पन्न निर्वाचनबाट आएको नेतृत्वले केन्द्र सार्ने प्रस्ताव मंगलबारको गाउँसभा बैठकमा पेश गर्न खोजेपछि नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । यससँगै बैठक नै स्थगित हुन पुगेको छ । गाउँपालिका सार्न दुई तिहाई बहुमत नपुगेपछि अध्यक्ष दीपक तिमिल्सेना‘साकार’ले उक्त प्रस्ताव कार्यपालिकामै फिर्ता गरेका छन् । हाल नेकपा माओवादी केन्द्रको बहुमत मात्रै छ । काँग्रेस र एमालेले पालिकाको केन्द्र दलभन्ज्याङमा सार्ने अडान राखेका छन् भने माओवादीले बण्टारमा सार्न खोजेको छ । आज गाउँ सभा बैठकमा काँग्रेस र एमालेले संयुक्त रुपमा बहिस्कार गरेपछि प्रस्ताव फिर्ता लिन बाध्य भएको तिमिल्सेनाले बताए । ‘हामीले सबै पक्षसँग छलफल गरेर उपयुक्त स्थानमा केन्द्र सार्नेगरी गाउँ कार्यपालिकाबाट निर्णय गरेर गाउँ सभामा आज पेश गरेका थियौँ । बैठक सुरु भए लगत्तै काँग्रेस र एमालेबाट निर्वाचित गाउँ सभा सदस्यले बैठक बहिस्कार गर्नुभयो,’ तिमिल्सेनाले भने,‘काँग्रेस एमालेको यस्तो हर्कत देखेर अचम्मित भएको छु । केन्द्र सार्ने कुरा गर्दा पहिले उहाँहरुको सहमति थियो । सार्नुपर्छ भन्ने बचन दिनु भएको थियो । आज कताबाट के आयो ? एकाएक बैठक छाडेर निस्कनु भयो ।’ निर्वाचनमा आफूले जनतालाई पालिका सार्ने बचन दिएपनि काँग्रेस र एमालेको असहयोग कारण सफल हुन नसकेको तिमिल्सेनाले बताए । अब उपयुक्त समयमा पालिका सर्ने प्रस्ताव गाउँ सभामा पेश गर्ने उनको भनाइ छ । तर, नेपाली काँग्रेसबाट निर्वाचित पालिका उपाध्यक्ष ललिता अधिकारीले केन्द्र सार्ने विषयमा अध्यक्षले नै राजनीतिक स्वार्थ राखेकाले पास हुन नसकेको जिकिर गरिन्। ‘हालको पालिका केन्द्र सबै जनतालाई अप्ठ्यारो परेको मैलेपनि महशुस गरेकी छु । त्यही भएर मैले अध्यक्षज्यूलाई पनि भनेकी छु,’ अधिकारीले भनिन्, ‘तर अध्यक्षले मेरो प्रस्ताव सुन्दै सुन्नु भएन । त्यसैले असफल भयो ।’