सर्लाही, २८ वैशाख । सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेका मतदानस्थलमा विवाद भएको छ । लालबन्दी नगरपालिका ६ मा रहेको प्रेम ज्योती प्राथमिक विद्यालयमा रहेको मतदान स्थलमा विवाद भएको छ ।
लालबन्दी नगरपालिका ६ को प्रेम ज्योती प्राथमिक विद्यालयमा रहेको मतदान स्थलमा खटिएका कर्माचारीले एउटै मानिसलाई धेरैवटा परिचय पत्र दिएको भन्ने विषयमा विवाद उत्पन्न हुँदा निर्वाचन अधिकृतको विरुद्ध नाराबाजी भएको छ ।
नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्षका उम्मेदवारका मानिसहरुले आफ्नो घर परिवार बाहेक अरुको पनि परिचय पत्र लगेपछि नेकपा (एकिकृत समाजवादी) निकटका मानिसहरुले त्यो गलत भएको भन्दै विरोध गरेका हुन् । निर्वाचन अधिकृत तथा निर्वाचन गराउन खटेका कर्माचारीहरुबाट फरक फरक घरका मानिसहरुको मतदाता परिचय पत्र एउटै मानिसलाई वितरण गर्नु गलत भएको भन्दै एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका प्रहरीले जनाएको छ ।
आन्दोलनकारीहरुले निर्वाचन अधिकृत लगायत निर्वाचन गराउन खटिएका कर्माचारीहरुबाट गलत काम भएको भन्दै निर्वाचन अधिकृत सहित निर्वाचन स्थलमा खटिएका कर्माचारीहरु फिर्ता गएर अरु नै अधिकृत तथा कर्माचारीहरु आउनु पर्ने भन्दै निर्वाचन अधिकृत तथा कर्माचारीहरुको विरोध गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले जानकारी दिए। उनका अनुसार केही मानिसहरुले आफ्नो घर परिवार भन्दा अरुको परिचय पत्र लगेकामा फर्ता ल्याएका र केही मानिसहरुले फिर्ता नल्याएका कारण छानविन सुरु गरिएको बताए ।
यता, नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरुले लगेका परिचय पत्रहरु यथासिघ्र फिर्ता गर्नु पर्ने, एकाघर बाहेकका मानिसहरुलाई परिचय पत्र वितरण गर्ने कर्माचारी र निर्वाचन अधिकृतलाई कार्बाही हुनुपर्ने भन्दै नेकपा (एकिकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।