देवघाट, १४ कार्तिक । तनहुँको देवघाट गाउँपालिका सभाहलमा देवघाट गाउँपालिकाको आयोजनामा फरक क्षमता भएका ब्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ति शिविर कार्यक्रम आज बाट सुरु भएको छ।
कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उचित तरिकाले पहिचान गरि सरकार बाट पाउने सेवा सुबिधा ब्यवस्थापनमा कुनै कमि नहुने बताउनुभयो।

सो कार्यक्रममा देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको क्षमतालाई पहिचान गरि सरकारले सम्मान गर्नुपर्ने बताउनुभयो।साथै अध्यक्ष गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको हक हितको निम्ति सधैं लागी पर्ने बताउनुभयो ।
सो घुम्ति शिविर कार्यक्रम देवघाट गाउँपालिका भित्र यहीँ मिति २०७८ साल कार्तिक १४, १५ र १६ गते सम्म गाउँपालिकाको विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ।

कार्यक्रममा देवघाट गाउँपालिका लेखा शाखा प्रमुख उमानाथ ढकाल, देवघाट गाउँपालिका अपाङ्ग सरोकार समितिका अध्यक्ष ऋषिराम लामिछाने लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल र डा।सागर घिमिरे लगाएतको उपस्थिति रहेको थियो।
सो कार्यक्रम देवघाट गाउँपालिका शिक्षा शाखा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाइका कर्मचारी शुभद्रा भट्टराईले सञ्चालन गरेकि थियो भने देवघाट गाउँपालिका उपाध्यक्ष तथा स्थानीय समन्वय समिति संयोजक बिमला थापाको अध्यक्षता आजको कार्यक्रम सम्पन्न भएको थियो।