तनहुँ, ४ कार्तिक । नेकपा एमालेले तनहूँका ८५ वटै वडामा आगामी कार्तिक ६ गते एकै दिन अधिवेशन गर्ने निर्णय गरेको छ । एमाले जिल्ला सचिवालयको विहिबार बसेको बैठकले सबै वडामा अधिवेशनको तयारी पुरा भएको हुँदा उक्त दिन जिल्लाका सबै ८५ वटै वडामा अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी कार्तिक ९ गते १० वटै स्थानीय तहमा पनि अधिवेशन आयोजना गर्ने एमाले तनहूँले निर्णय गरेको छ ।
सबै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय ऐतिहाँसिक र चुनौतीपुर्ण भएको भन्दै एमालेले सबै कार्यकर्तालाई अधिवेशनमा लाग्न आह्वान गरेको छ । जिल्ला स्तरीय नेताहरुलाई पनि जिल्ला कार्यालयले अधिवेशनमा परिचालन गर्ने एमालेले निर्णय गरेको छ ।
बैठकले हालसम्म जिल्लाभर ९० प्रतिशत भन्दा बढि सदस्यता नविकरण भईसकेको निर्णय गर्दै शुक्रबार भित्रमा सबै सदस्यता नविकरण गरिसक्न र नविकरण भएका सदस्यहरुले मात्र अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको एमाले तनहूँका कार्यालय सचिव राजेश्वर ढकालले बताए ।

अधिवेशनको निर्णय भएसँगै अहिले गाउँ गाउँमा एमालेका कार्यकर्ताहरु अधिवशेनको तयारीमा जुटेका छन् । अधिवेशन स्थलको छनौटदेखी लिएर संगठित सदस्यहरुलाई निमन्त्रणा गर्न भ्याई नभ्याई भएको नेताहरुले बताएका छन् । त्यस्तै केही सदस्यको सदस्यता नविकरण कार्य जारी नै रहेको हुँदा अधिवेशन अघि नै नविकरण गरिसक्न नेताहरु लागि परेका छन् ।
अहिले जिल्ला भर ९० प्रतिशत भन्दा बढि सदस्यता नविकरण भएको र नयाँ सदस्यहरु पनि उल्लेख्य मात्रामा थपिएको एमाले जिल्ला सचिव भगवती न्यौपानेले बताईन् । सदस्यता नविकरण उत्साहनजनक भईरहँदा त्यसले पार्टी फुटको कुनै असर नपर्ने सन्देश दिएको सचिव न्यौापानेले बताईन् । शुक्लागन्डकी नगर कमिटिका सचिव रघु पौडेलले तोकिएकै मितिमा वडा र पालिकाको अधिवेशन हुने बताए । उनले अधिवेशनको सबै तयारी पुरा भईसकेको बताए ।
यसअघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण आगामी कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै साथ अधिवेशन गर्ने एमालेले निर्णय गरेको हो । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७ सय ५३ स्थानीय तहको अधिवेशन गर्ने एमालेले निर्णय गरेको छ ।