गोरखा, २७ भदौ । एकता महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाले बिभिन्न चरणमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र तथा नगर र गाउँ पालिकाको अधिवेशन सम्पन्न गरेको छ ।
मंगलवार जिल्ला अधिवेशनको तयारीमा रहेको राप्रपाले तल्लो तहको पार्टी कमिटीको निर्वाचन सकेको राप्रपाका केन्द्रीय नेता मोहन श्रेष्ठले बताए ।
उनका अनुसार शहिदलखन गाउँपालिका कमिटीमा पूर्णजंग भण्डारीको नेतृत्वको कमिटि चयन भएको छ ।
त्यस्तै गण्डकी गाउँपालिकामा कोमलप्रसाद रेग्मीको अध्यक्षताको कमिटी सर्वसम्मत चयन भएको राप्रपाका नेता श्रेष्ठले बताए । क्षेत्र नं १ को अधिवेशनले हरिराम अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यस्तै नगर अधिवेशनले रुद्रराज पाण्डेको नेतृत्वमा नगरस्तरीय पार्टी कमिटी सर्वसम्मत गठन गरेको नेता श्रेष्ठले जानकारी दिए । सोमवार सदरमुकाममा भएको भेलाले नगर समिति चयन गरेको हो ।
प्रतिनिधि सभाको क्षेत्र नं. १ प्रदेश ‘क’ को अध्यक्षमा नेत्रबहादुर थापामगर चयन भएका छन् ।