काठमाण्डौ, २० जेठ । सरकारले नेपालमा कोरोनाको नयाँ भेरिएन्ट फेला नपरेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट नदेखिएको स्पष्ट पार्नुभएको छ।
उहाँले नेपालमा कोरोना भाइरसका २ वटा भेरिएन्ट मात्रै सक्रिय रहेको प्रष्ट पार्नुभएको छ । बेलायतको पत्रिका ‘डेली मेल’ आज प्रकाशन गरेको संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। डेली मेलको समाचारमा वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरिएको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरुलाई सचेत गराएको भनेर लेखिएको छ।
भारतमा उत्पत्ति भएको बी.१.१६७ भेरियन्टको नेपालमा दोस्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने पनि डेलिमेलले आफ्नो समाचारमा लेखेको छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने नेपालमा अहिले बेलायतमा देखिएको ‘अल्फा’ र भारतमा देखिएको ‘डेल्टा’ भेरियन्ट मात्रै सक्रिय रहेको बताउनुभयो।
यस्तै विश्व स्वास्थ्य संगठनले समेत नेपालमा कुनै नयाँ भेरिएन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएको जनाएको छ।