देवघाट, १८ जेठ । लामो समयदेखि तनहुँको देवघाटमा अलपत्र परेका ८३ वर्षीय वृद्वको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको सक्रियतामा उद्वार गरि मानव सेवा आश्रममा बुझाईएको छ। गाउँपालिकाको वडा नम्बर ५ भित्र करीब बीस बर्ष पहिला देखी बसोबास गर्दै आएका वृद्ध कृष्ण बहादुर न्यौपाने केहि समय देखी बिरामी भएर एक्लै घरमा बसिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष थापाको सक्रियतामा केहि दिन अघि उद्वार गरिएको थियो।

उनै वृद्वलाई आज गाउँपालिकाले मानव सेवा आश्रमलाई बुझाएको हो। देवघाटको पुरानो झोलुङ्गे पुलमा बसेर आफ्नो दैनिक गुजारा गर्ने सो ८३ वर्षीय वृद्वको दोहोरो कुरा गर्न नसक्ने,कान कम सुन्ने र आँखा पनि कम देख्ने ती वृद्व विगत २० दिनदेखि बिरामी भएर काठको सामान्य घरमा एक्लै बस्दै आएको थियो।

उद्वारको क्रममा वृद्वको साथ बाट मागेर जम्मा गरेको पाँच हजार रुपैयाँ पनि मानव सेवा आश्रमलाई नै बुझाएको छ।
वृद्वको कोरोना परीक्षण र स्वास्थ्य उपचार भने देवघाटको धर्मार्थ अस्पतालमा गरिएको थियो। स्वास्थ्यमा क्रमिक सुधार र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आए पछि मानव सेवा आश्रममा लगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । साथै गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा मानव सेवा आश्रमलाई पनि निश्चित रुपमा केहि सहयोग रकम बिनियोजन गर्ने विचार गरेको उनले बताए