देवघाट, १७ जेठ । तनहुँको देवघाट गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि संघिय सरकारबाट करिब पौने ३३ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अनुसार गाउँपालिकालाई ३२ करोड ८७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो।
प्राप्त विवरण अुनसार गाउँपालिकालाई समानीकरण अनुदानतर्फ न्युनतम अनुदान २ करोड ७५ लाख, सुत्रमा आधारित अनुदानमा ५ करोड १५ लाख र कार्य सम्पादनको आधारमा ५५ लाख रुपैयाँ गरि ८ करोड ४५ लाख रुपैयाँ विनियोजन भएको छ।
यस्तै सशर्त अनुदानतर्फ चालु खर्चको लागि १९ करोड ७ लाख र पूँजीगत खर्चको लागि ८८ लाख रुपैयाँ गरि १९ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको छ। यस वर्ष देवघाट गाउँपालिकालाई विशेष अनुदान तर्फ समेत २ करोड ४९ लाख चालु बजेट विनियोजन भएको छ।
यसैगरी समपुरक अनुदान तर्फको लागि १ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको छ। उल्लेखित बजेट अनुसार गाउँपालिकाले संघिय सरकारबाट आगामी वर्षका लागि चालु खर्च तर्फ २७ करोड ५२ लाख र पूँजीगत खर्च तर्फ ५ करोड ३५ लाख गरि ३२ करोड ८७ लाख रुपैयाँ बजेट बिनियोजन भएको देखिन्छ।
गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष ६ करोड ९६ लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संभिय सरकारबाट २६ करोड ११ लाख रुपैयाँ पाएको थियो।
यसैबिच तनहुँको १० वटा स्थानीय तह मध्य कार्यसम्पादन तर्फ सबैभन्दा बढि बजेट पाउने २ वटा स्थानीय तहमा देवघाट पनि एक हो।