देवघाट, ७ बैशाख । कोरोना महामारीमा विचल्लीमा परेको वृद्वलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले घरमै पुगेर उद्दार गरेका छन्। अध्यक्ष थापाले ओखलढुंगा घर भइ २० बर्ष देखि देवघाटको पुरानो झालुङ्गे पुलमा मागेर दैनिक गुजारा चलाउने न्यौपाने थरको करिब ८३ वर्षीय वृद्वको उनी बस्ने घरबाटै उद्वार गरेका हुन्।

आफ्नो नाम पनि बताउन नसक्ने वृद्व देवघाटमा अर्काको काठको कच्ची घरमा एक्लै बसोबास गर्दै आएका थिए। स्थानीयहरुले वृद्व जेष्ठ नागरिक बिरामी भएको खबर सुनाए पछि आफु र केहि समाजसेवी ब्याक्तीहरु सहित तुरुन्त सो स्थानमा पुगि वृद्वको उद्दार गरिएको अध्यक्ष थापाले जानकारी दिए। वृद्वको उद्दार पछि उपचार गरिने र खान बस्नको लागी उचित ब्यवस्थापन गर्ने उनले बताए।

उद्दारको क्रममा उहाँको साथ बाट नगद २ हजार २ सय रुपैयाँ समेत फेला परेको ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले जानकारी दिए। उनी करिब पन्ध्र दिन देखि भोको रहेकोे र खानै नपाएको कारण केही दिन देखि थला परेको स्थानीयको भनाइ थियो।