काठमाण्डौ, १ जेठ । पछिल्लो पटक सरकार गठनका बारेमा जनता समाजवादी पार्टी जसपामा विवाद देखिएको छ । पार्टी भित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले भने आपत्ति जनाउनुभएको छ । ठाकुरले एक विज्ञप्ति मार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने बारे प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ, उहाँले भन्नुभएको छ ।
जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो । यादव पक्षका नेताले संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको दाबी गरेपनि ठाकुर पक्षका १९ सांसदको हस्ताक्षरमा राजेन्द्र महतोलाइ संसदीय दलका नेता बनाईएको छ ।