देवघाट । देवघाट गाउँपालिकाले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले मंगलबार देवघाट–५ स्थित पुलको मुखदेखि टाउनचोकसम्मका ५२ वटा पसलको अनुगमन गरेको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा पसललाई आवश्यक प्रक्रिया पूरा गरी दर्ता गर्न आग्रह गरेका छन् ।
गाउँपालिकाको अगुवाइमा गरिएको अनुगमनका क्रममा पसलहरूको व्यवसाय दर्ता तथा नवीकरणको अवस्था, मूल्यसूची, साइनबोर्ड, नापतौलसम्बन्धी प्रमाणपत्र, खरिद–बिक्री बिल तथा बिक्रीका लागि राखिएका सामग्रीको म्याद र गुणस्तर जाँच गरिएको थियो। अनुगमन टोलीले व्यवसायीहरूलाई प्रचलित कानुन तथा मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै दर्ता नगरी सञ्चालनमा रहेका पसललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवसाय दर्ता गर्न सुझाव दिएको छ। त्यसैगरी पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्न, खरिद–बिक्रीको बिल व्यवस्थित गर्न तथा बिक्रीका लागि राखिएका सामग्रीको म्याद र गुणस्तरमा विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरिएको छ।
अनुगमनमा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङ, गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष पूर्णबहादुर कुँवर, प्रशासन शाखा अधिकृत गोविन्दप्रसाद पौडेल, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, कार्यक्रम अधिकृत कृष्ण पन्त, इलाका प्रहरी कार्यालय देवघाटका जयप्रकाश गुप्ता तथा देवघाट धर्मार्थ अस्पतालका विष्णु कमलीलगायतको उपस्थिति रहेको थियो।
गाउँपालिकाका अनुसार स्थानीय बजारलाई व्यवस्थित बनाउने, व्यवसायलाई कानुनी दायरामा ल्याउने तथा उपभोक्ताले गुणस्तरीय र सुरक्षित सामग्री प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न बजार अनुगमन गरिएको हो। बजार अनुगमनले व्यवसायीहरूलाई कानुनी प्रावधानप्रति सचेत गराउनुका साथै स्थानीय बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ।