मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा चाडपर्वलाई लक्षित गर्दै १५ दिने ‘यात्री सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ। यात्रुहरूलाई सुरक्षित आवागमनमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको सहायता कक्षको उद्घाटन गरेका हुन ।

‘सुरक्षित यात्रा हाम्रो चाहना, सुखद चाडपर्वको शुभकामना’ भन्ने मूल नाराका साथ स्थापना गरिएको सहायता कक्षको उद्घाटन इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख डिल्लीबहादुर खड्का र इच्छाकामना जेसीजकी अध्यक्ष रञ्जिता सिलवालले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो। इच्छाकामना गाउँपालिकाको मुख्य सहयोग तथा इलाका प्रहरी कार्यालय मुग्लिनको सहकार्यमा सञ्चालनमा आएको सहायता कक्षमा इच्छाकामना गाउँपालिका–५ मा रहेका विभिन्न संघसंस्थाको सहभागिता रहेका थिए ।

चितवन होटल व्यवसायी संघ इच्छाकामना इकाई,इच्छाकामना उद्योग वाणिज्य संघ,उद्योग संघ इच्छाकामना समिति,एपोलो मुग्लिन युथ एसोसिएसन,ट्राफिक प्रहरी कार्यालय मुग्लिन तथा समुदाय–प्रहरी सेवा केन्द्र मुग्लिनलगायतका संस्थाले सहायता कक्ष सञ्चालनमा सहकार्य गरेका छन्। चाडपर्वका बेला यात्रुहरूले यात्राका क्रममा भोग्नुपर्ने समस्या,ठगी तथा अन्य असुविधालाई सम्बोधन गर्न सहायता कक्ष स्थापना गरिएको आयोजकले जनाएको छ। सहायता कक्ष आगामी १५ दिनसम्म सञ्चालनमा रहनेछ। सहायता कक्षमार्फत यात्रुहरूलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउनुका साथै सुरक्षित र सहज यात्राका लागि सहजीकरण गरिने अपेक्षा गरिएको छ।