मुग्लिङ। चितवनको मुग्लिङमा १०५ जना सवारी चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो।
इच्छाकामना गाउँपालिका,इच्छाकामना जेसिज,इलाका प्रहरी कार्यालय मुग्लिङ,ट्राफिक प्रहरी कार्यालय, होटल व्यवसायी संघ तथा उद्योग संघ मुग्लिङको संयुक्त आयोजनामा इच्छाकामना गाउँपालिका–५ स्थित सिराइचुली होटल एण्ड गेस्ट हाउसको प्राङ्गणमा शिविर सम्पन्न भएको हो।
शिविरमा मुग्लिङ हुँदै यात्रा गर्ने करिब १०५ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गराई लाभ लिएका छन्। कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यता रहेको थियो। वडा नम्बर ५ का अध्यक्ष तेजबहादुर शेरचन र इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख डिल्लीबहादुर खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएका थिए ।
सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्य समस्याका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको इच्छाकामना जेसीजका अध्यक्ष रन्जिता सिलवाले बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ नेपाल, ट्राफिक प्रहरी कार्यालय, उद्योग संघ, होटल व्यवसायी संघ, एपोलो युथ एसोसिएसन र इच्छाकामना जेसिजलगायत इच्छाकामना–५ मा रहेका विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहेको थियो।