काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
ओलीले विपद् व्यवस्थापनमा सरकारको भूमिका प्रमुख हुने उल्लेख गर्दै उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरे । यसअघि भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढी आउँदा उद्धार तथा राहत कार्यमा कमजोरी भएको आरोप लगाउँदै उनले बुढीगण्डकी बाढीका क्रममा त्यस्ता समस्या दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘सबैभन्दा बढी त सरकारको कर्तव्य नै हो यो । त्यसकारण, यसअघि भोटेकोशी र त्रिशूलीमा बाढी आउँदा सरकारले हेलिकोप्टर नियन्त्रण गर्ने, दुरुपयोग गर्ने तथा राहत र उद्धारका कार्य समयमै नगरेको अवस्था थियो । यसपटक त्यस्ता कुरा नदोहोरिऊन् भनेर म सरकारलाई आग्रह गर्न चाहन्छु ।’
उनले उद्धार तथा राहत कार्यमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताए । विपद्का बेला सर्वदलीय संयन्त्र निर्माण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका उनले सरकारी हेलिकोप्टरको परिचालन तथा राहत वितरणमा समेत प्रश्न उठाए । अध्यक्ष ओलीले विगतका विपद्का समयमा वैदेशिक सहयोगको उचित सदुपयोग हुन नसकेको र सहयोग स्वीकार गर्न ढिलाइ हुँदा उद्धार कार्य प्रभावित भएको आरोपसमेत लगाए ।
उनले भने, ‘सरकार फराकिलो मन र फराकिलो पनका साथ उद्धार कार्यमा अगाडि बढोस् । सरकारले एउटा सर्वदलीय समिति सम्म बनाउने फराकिलोपन पनि देखाउन सकेन । कति साँघुरो मन, साँघुरोपन देखायो । सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो, त्यस्तो खालको स्थिति रह्यो । वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन । समयमा स्वीकार नगर्दा अनावश्यक रूपमा उद्धार अभियानको अभावमा थुप्रै नागरिकले ज्यान गुमाउनुपरेको मान्न सकिन्छ ।’
समयमै उद्धार हुन नसक्दा नागरिकले ज्यान गुमाउनुपरेको अवस्था दोहोरिन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो । उनले बुढीगण्डकी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्न सरकारसँग आग्रह गरेका छन् ।