Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

आदिवासी जनजाति महिलाको हकअधिकार र क्षमता विकासमा जोड दिन आग्रह

आदिवासी जनजाति महिलाको हकअधिकार र क्षमता विकासमा जोड दिन आग्रह

images

इच्छाकामना न्युज

२२, आश्विन २०८३
आदिवासी जनजाति महिलाको हकअधिकार र क्षमता विकासमा जोड दिन आग्रह
images

भरतपुर । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)ले बुधबार अन्तर्क्रिया कार्यक्रम गरेको छ । नयाँ नेतृत्व आएसँगै संस्थाका लागि नियुक्त भएका सल्लाहकारहरुलाई स्वागत गर्दै संस्थागत विकासमा गर्नुपर्ने काम र कर्तव्यबारे महासंघले अन्तर्क्रिया गरेको हो ।

कार्यक्रममा महासंघकी पूर्वअध्यक्ष एवम् सल्लाहकार संयोजक भैँखुकुमारी गुरूङले आदिवासी जनजाति आन्दोलनमार्फत प्राप्त उपलब्धिलाई आत्मसात् गर्दै आगामी दिनमा अझ फरक र सशक्त ढङ्गले कार्यप्रगति गर्दै जानुपर्ने सुझाव दिइन् । आदिवासी जनजाति महिलाहरु आफ्नो हक र अधिकार प्राप्तिका लागि धनराशि खर्च गरेर लड्न सक्ने अवस्थामा आइनपुगेका कारण यसतर्फ महिला महासंघले चासो दिएर काम गर्नुपर्ने उनले बताइन् ।

‘हामी राज्यसँग त लड्नै छ, तर त्यसभन्दा अगाडि आफ्नै समाजसँग लड्नुपर्छ’,उनले भनिन्,‘त्यसैले सबै खाले चुनौतीको सामना गर्दै संस्थागत विकासमा जोड दिने गरी काम गर्नुपर्छ । आफू अध्यक्ष हुँदा केही समयपछि एक्लो भएको महसुस गर्दै उनले थपिन्, ‘त्यतिबेलाको परिस्थिति अर्कै थियो, अहिले फेरिएको छ । तैपनि, हाम्रो आन्दोलन त जारी नै छ ।’ त्यतिबेला राज्यसँग अधिकार माग्दा राज्यबाटै दमन खेप्नु परेको घटना स्मरण गर्दै अहिले विचारको शक्ति प्रदर्शन गर्नुपर्ने बेला आएको उनले बताइन् ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले अधिकार प्राप्त गर्नका लागि महिला महासंघले नेफिन चितवनसँग सहयोग लिन सक्ने आश्वासन दिए । ‘हामीले गल्ती गर्नुहुँदैन, बिनागल्ती सजाय भोग्नु पनि हुँदैन’, उनले भने, ‘विशेषगरी जङ्गल र नदीनालाआसपास बस्दै आएका आदिवासी जनजाति महिलाहरु ठूलो समस्यामा छन् । उनीहरुको वास्तविकता बुझेर अन्यायमा परेकाहरुलाई न्यायका लागि हामीले सहयोग गर्नुपर्छ ।’

थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले संस्थागत विकासका लागि आर्थिक पक्षलाई बलियो बनाउँदै लैजानुपर्ने सुझाव दिए । त्यसका लागि सबैले सक्दो सहयोग गर्न पनि उनले आग्रह गरे । सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले समग्र समाजसँगै राजनीतिक विषयमा पनि जानकारी राख्नुपर्ने उनले बताए ।जिल्लाभर रहेका आदिवासी जनजाति महासंघमातहतका जातीय संस्थाका महिला समितिलाई चलायमान बनाउँदै समग्र आदिवासी जनजाति समुदायका महिलाहरुको हकअधिकार र क्षमता विकासमा महिला महासंघले ठूलो भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

संस्थाका सल्लाहकार ठाकुरसिंह आलेमगरले संस्थालाई बलियो बनाउन समितिका सबैले आफ्नो जिम्मेवारीलाई पूर्णतया कार्यान्वयन गरेर काम गर्नुपर्ने बताए । कानुनी सल्लाहकार अजयकुमार तामाङले समाजमा विभिन्न खालका कुरीति, विकृति, विसङ्गति कायमै रहेको हुँदा त्यस्ता नकारात्मक पक्षलाई हटाउँदै अगाडि बढ्नुपर्ने चुनौतीको सामना गर्दै समग्र आदिवासी जनजाति महिलाहरुको पक्षमा वकालत गर्ने जिम्मेवारी वर्तमान कार्यसमितिमाथि आएको बताए ।

अबका दिनमा सामाजिक तथा वैचारिक आन्दोलनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए । ‘हामी सबै जातजाति एउटै समाजमा छौँ, त्यसैले आफ्नो अधिकार प्राप्तिका लागि हामीसँगै बसेका छिमेकीलाई ठेस नपुग्ने गरी काम गर्नुपर्छ’, उनले भने, ‘त्यसकारण कसैमाथि दोषारोपण र आरोप–प्रत्यारोप नगरी सभ्य तरिकाले आन्दोलन गर्नका लागि सचेत नागरिकको भूमिका निभाउनुपर्छ ।’

प्राप्त सल्लाह र सुझावलाई अङ्गीकार गर्दै संस्थागत विकासमा लाग्ने महिला महासंघकी अध्यक्ष शोभा थापामगरले प्रतिबद्धता जनाइन् । समितिमा नयाँ नेतृत्व आएको हुँदा सबैको सल्लाह, सुझाव, साथ र सहयोगबाटै संस्था सञ्चालन गर्ने अगुवाहरुसमक्ष उनले अपेक्षा जनाइन् । आदिवासी जनजाति महासंघअन्तर्गत विभिन्न तहमा रहेका व्यक्तिहरुको उपस्थितिमा भएको कार्यक्रममा महासंघकी उपाध्यक्ष मीरा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा दसैँ–तिहारको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

images
प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - ११:२०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology