काठमाडाैँ। गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी प्रधान कार्यालयका एआईजी अन्जनीकुमार पोखरेलको संयोजकत्वमा एक सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको तथा विभिन्न व्यक्तिसँग सम्पर्क राखी गोप्य सूचना चुहाएको आरोप छ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ असोजको राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा जाँदै थिए ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजीको पदावधि चार वर्षको हुन्छ । २८ वैशाख २०७९ मा उनी एआईजी भएका थिए । यो व्यवस्थाअनुसार उनी २७ वैशाखको राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै थिए ।
तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।
(२) उपनियमअनुसार एक वर्ष म्याद थपका लागि सशस्त्र हेडक्वाटर गृहमन्त्रालयमा सिफारिस समेत गरेको थियो । यही बीचमा उनी गोप्य सूचना चुहाएको भन्दै निलम्बनमा परेका हुन् ।