काठमाडौं। यातायात व्यवस्था विभागले दसैँ, तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ।
विभागले मंगलबार बिहान ११ बजे छलफलका लागि यातायात व्यवसायीलाई बोलाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो।
छलफलमा चाडपर्वका बेला सार्वजनिक यातायात व्यवस्थापन, यात्रुलाई भाडामा दिइने छुट, सुरक्षा तथा यात्रु आवागमन सहज बनाउने विषयमा छलफल हुनेछ।
मुख्य गन्तव्यतर्फको यात्रा सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा समेत छलफल गरिने विभागले जनाएको छ।
छलफलमा यातायात व्यवसायीसँगै ट्राफिक प्रहरी, यातायात सञ्चालक, मजदुर तथा बसपार्क सञ्चालक र व्यवस्थापकलाई समेत बोलाइएको छ।