काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै प्रतिनिधिहरू तीन छुट्टाछुट्टै हलमा विभाजन भएर छलफलमा जुटेका हुन्।
बन्दसत्रका लागि हिमाल, पहाड र तराई–मधेस हल निर्धारण गरिएको छ। हिमाल हलमा कोशी, कर्णाली र गण्डकी प्रदेशका २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। पहाड हलमा बागमती र लुम्बिनीका २ हजार २२६ तथा तराई–मधेस हलमा मधेस, सुदूरपश्चिम, जनसम्पर्क समिति र भ्रातृ संगठनका गरी २ हजार ३७६ प्रतिनिधि सहभागी छन्।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल हुने कांग्रेसले जनाएको छ।
सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षको पार्टी कार्यदिशा, सरकार, मुलुकको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको छ। लोकतान्त्रिक संस्थालाई सबल बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारिएको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा पनि प्रस्ताव गरिएको छ।
महामन्त्री पौडेलको प्रस्तावमा पार्टी सञ्चालन, निर्णय प्रक्रिया, जिम्मेवारी बाँडफाँट तथा विभिन्न तहको संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने विषय समेटिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।