पर्वत। बाढीले क्षति पुर्याएको पर्वत र बागलुङ जोड्ने मालढुंगा मोटरेबल पुलको मर्मत तीव्र पारिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत कालीगण्डकी नदीमाथि रहेको पुललाई करिब एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित चौबीसै घण्टा काम भइरहेको छ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग कटान गरेपछि आवागमन ठप्प भएको थियो। पुल बन्द हुँदा दुई जिल्लाबीचको यातायात सम्पर्क विच्छेद हुनुका साथै मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम र रोल्पासम्मको यातायात प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय पोखराले मर्मतका लागि दिनरात कामदार परिचालन गरेको जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन थालेपछि मर्मतलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।
इन्जिनियर अमन अधिकारीका अनुसार पुल आसपास नदीको सतहभन्दा करिब आठ मिटर तलसम्म गहिरिएको भाग पुरेर प्लेटफर्म निर्माण गरिएको छ। अब पहुँचमार्ग निर्माणका लागि ठूलो परिमाणमा माटो, ढुंगा र गिटी आवश्यक पर्ने भए पनि नजिकै निर्माण सामग्रीको अभावले काममा कठिनाइ भइरहेको छ।
यसअघि करिब दुई किलोमिटर टाढाबाट निर्माण सामग्री ल्याइँदै आएकोमा अहिले त्यहाँबाट सामग्री ल्याउन रोकिएपछि करिब १० किलोमिटर टाढाको पहिरो क्षेत्रबाट माटो र ढुंगा ढुवानी गर्नुपर्ने अवस्था रहेको अधिकारीले बताउनुभयो।