भरतपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम आजदेखि सुरू हुने भएको छ। काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरू भएको महाधिवेशनमा आज बन्द सत्र हुँदैछ। आज बिहान १० बजे केन्द्रीय कार्यसमिति बैठकपछि बन्द सत्र सुरू हुनेछ। बन्द सत्रपछि आजै साँझदेखि निर्वाचन कार्यक्रम सुरू हुनेछ।
आज बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले बताएको छ। मतदाता नामवली प्रकाशन उपर दाबी विरोधका लागि ५ देखि साढे ६ बजेसम्मको समय तोकिएको छ। ६ः३० देखि ७ः०० बजेसम्म दाबी विरोध उपर जाँचबुझ पछि ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारी दर्ता भने मंगलबार हुनेछ। मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचत समितिले बताएको छ। मंगलबार दिउँसो साढे ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोधपछि बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारी फिर्ता लिनका लागि असोज २१ गते बिहान ९ बजेसम्मको समय तोकिएको छ। २१ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तोकिएको निर्वाचन समितिले जनाएको छ ।