काठमाडौं। १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी दुई मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारणलाइनका १६ टावरमध्ये १४ वटा निर्माण भइसकेका छन्। बाँकी दुई टावरको काम पनि अन्तिम चरणमा पुगेको र १०–१५ दिनभित्र सम्पन्न गरी लाइन चार्ज गर्न मिल्ने जानकारी दिनुभयाे।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेशनको निरीक्षण गर्दै बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयाे ।
प्रसारणलाइन सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप भरपर्दो हुने, औद्योगिक विद्युत् माग व्यवस्थापन तथा आन्तरिक खपत बढाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ। साथै, वर्षायाममा उत्पादित अतिरिक्त विद्युत् व्यवस्थापन र विद्युत् निर्यात विस्तारमा सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ।