काठमाडौं । हवाई उडानमा चराचुरुङ्गी तथा वन्यजन्तुबाट हुने जोखिम नियन्त्रण गर्न सरकारले विमानस्थल वरपरको क्षेत्रमा वधशाला स्थापना र फोहोरमैला थुपार्न प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
संघीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा विमानस्थलदेखि ३ किलोमिटर वरिपरिको क्षेत्रमा अव्यवस्थित रूपमा वधशाला सञ्चालन तथा फोहोरमैला थुपार्न पूर्ण रुपमा राेक लगाएकाे हाे।
विधेयकको दफा १९ मा यस्तो व्यवस्था गरिएको छ। वधशाला तथा फोहोरबाट आकर्षित हुने चराचुरुङ्गी जहाजको इन्जिनमा ठोक्किने जोखिमलाई ध्यानमा राख्दै उडान सुरक्षाका लागि यस्तो प्रावधान विधेयकमा राखिएको छ।
विधेयक उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। यस्तै, एकपटक कारबाहीमा परिसकेको व्यक्तिले पुनः सोही कसुर दोहोर्याएमा दोब्बर जरिवाना हुने कडा व्यवस्था गरिएको छ।