काठमाडौं। मन्त्रालयको पछिल्लो ६ महिनाको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्यांकमा भने पर्याप्त मल मौज्दात रहेको देखिने अवस्थाबारे स्पष्ट जवाफ माग गरेका छन् ।
रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको बेथिति तथा मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरूले कृषिमन्त्री र मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएका हुन् ।
सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको सक्रियता देखिए पनि कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताए । उनले टेन्डर प्रक्रियामा हुने ढिलाइ तथा मल वितरणमा देखिएको चुहावटका कारण किसान प्रभावित भएको भन्दै आगामी आर्थिक वर्षमा वितरण प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमलगायत विभिन्न जिल्लाका किसानले भोगिरहेका समस्या तथा कृषि उपजको बजारीकरणमा देखिएका जटिलताबारे सरकारसँग लिखित जवाफ माग गरे ।
सांसदहरूले किसानलाई समयमै पर्याप्त मल उपलब्ध गराउने व्यवस्था गर्न तथा मन्त्रालयसँग जोडिएका विवादबारे पनि स्पष्ट जानकारी सार्वजनिक गर्न कृषिमन्त्री र सचिवसँग आग्रह गरेका छन् ।