Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

चितवनमा धमाधम ट्राफिक लाइट जडान, दसैँअघि नै बत्ती बाल्ने लक्ष्य

चितवनमा धमाधम ट्राफिक लाइट जडान, दसैँअघि नै बत्ती बाल्ने लक्ष्य

images

इच्छाकामना न्युज

१५, आश्विन २०८३
चितवनमा धमाधम ट्राफिक लाइट जडान, दसैँअघि नै बत्ती बाल्ने लक्ष्य
images

चितवन । चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढेको यस आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

असोज २० गतेभित्रै बत्ती बालेर केही चोकमा लाइट सञ्चालनमा ल्याउने लक्ष्य राखिएपनि लगातारको वर्षाका कारण उच्च भोल्टेज (हाइटेन्सन) लाइनको विद्युतीय काम प्रभावित हुँदा केही ढिलाइ भएको छ । यद्यपि, मौसममा सुधार आएसँगै दसैँअघि नै ६ वटै चोकका बत्ती पूर्ण रूपमा बालेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

आयोजनाका मुख्य प्राविधिक एवं साइट इन्जिनियर धिरज राउतका अनुसार कुल ६२ देखि ६६ वटा पोलहरूमध्ये हालसम्म ५० प्रतिशतभन्दा बढीमा काम सम्पन्न भइसकेको छ । नारायणगढको मुख्य प्रवेशद्वार पुल्चोकमा भने चाँडै बत्ती बालेर परीक्षण सञ्चालन गर्ने तयारी छ ।

६ मिटर आर्म भएका ७ मिटर अग्ला ‘भेक्युलर पोल’ र पैदलयात्रीका लागि सीधा ‘पेडेस्ट्रियन पोल’ प्रयोग गरिएको छ । यस आयोजनामा पारस बसपार्क क्षेत्रको काम सकिएलगत्तै बाँकी करिब ३० वटा पेडेस्ट्रियन पोल जडानको काम दुईदेखि तीन दिनभित्र भरतपुरभर नै सक्ने लक्ष्य छ । हाल मिटर हाल्ने, काउन्टर र कन्ट्रोल बक्स जोड्ने जस्ता अन्तिम चरणका काम भइरहेका छन् ।

यस आयोजनाअन्तर्गत भरतपुरका ६ वटा मुख्य चोकहरू पुल्चोक, सहिदचोक, चौबिसकोठी,  हाकिमचोक, पारस बसपार्क र मालपोत चोक समेटिएका छन् । काउन्टर प्रणालीमा आधारित यी अत्याधुनिक बत्तीहरूले सीधा, दायाँ र बायाँ मोड्ने सवारीसाधनका साथै पैदलयात्रीका लागि समेत स्पष्ट सङ्केत प्रदान गर्नेछन् । यी बत्तीहरूको सञ्चालन र अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमबाटै कम्प्युटर प्रविधिको सहायताले गरिनेछ र कुन चोकमा कति सेकेन्ड बत्ती बाल्ने भन्ने कुराको नियन्त्रण र नियमन मिलाइनेछ।

कुल १ करोड २३ लाख रुपैयाँमा एभरेस्ट टु सी – अमरज्योति जेभीले २०८२ साउन २० मा ठेक्का पाएको थियो । सम्झौताअनुसार चैत २० सम्ममा काम सक्नुपर्ने थियो । तोकिएको म्यादभित्र काम सम्पन्न हुन नसकेपछि नियमअनुसार गत वैशाखदेखि निर्माण कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना समेत तिराउँदै कामलाई अगाडि बढाइएको सडक डिभिजन कार्यालयअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख इन्जिनियर राकेश महर्जनले जानकारी दिए ।

निर्माण पक्षका इन्जिनियर राउतले काठमाडौँमा आन्दोलनका क्रममा तोडफोड भएका बत्ती तथा प्राविधिक संरचनाको मर्मत गर्नुपरेको, विभागबाट प्राविधिक लाइनअप पाउन समय लागेको र आवश्यक उपकरणहरू बाटोमै अड्किएका कारण प्रारम्भमा काम ढिला भएको दाबी गरे । 

images
प्रकाशित मिति :आश्विन १५, २०८३ बिहिवार - १०:०६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology