Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमु धिं नेपालको १७औँ महाधिवेशन असोज ९ र १० गते, निर्वाचन तालिका सार्वजनिक

तमु धिं नेपालको १७औँ महाधिवेशन असोज ९ र १० गते, निर्वाचन तालिका सार्वजनिक

इच्छाकामना न्युज

३०, भाद्र २०८३
तमु धिं नेपालको १७औँ महाधिवेशन असोज ९ र १० गते, निर्वाचन तालिका सार्वजनिक
images

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालको ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशन आगामी असोज ९ र १० गते पोखरामा हुने भएको छ।

images
images

महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि अध्यक्षसहित पदाधिकारीका लागि आन्तरिक छलफलसमेत तीव्र बनेको छ। यसैबीच निर्वाचन समितिले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन अधिकृत तथा तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार भदौ ३१ गते मतदाता नामावली प्रकाशन, असोज ३ गते मनोनयन दर्ता, असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र असोज १० गते मतदान हुने भएको छ।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत शंकर गुरुङसहित पूर्वउपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पूर्वमहासचिव रुद्रकुमारी गुरुङ ‘मैना’ र क्याप्टेन चन्द्रप्रसाद गुरुङ रहेका छन्। तमु धिं नेपालको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय सदस्यहरू भने क्षेत्र, भेक, लैंगिक, तमु थर तथा विधागत आधारमा चयन हुनेछन्।

अध्यक्ष पदमा उम्मेदवारी दिन कम्तीमा एक कार्यकाल पदाधिकारी भएको हुनुपर्ने र अन्य पदाधिकारी पदका लागि कम्तीमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनुपर्ने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका क्रममा मनोनयन फारमसँगै सम्बन्धित जिल्ला, पालिका, तमु समाज वा सम्बद्ध समितिबाट पद खुलाएर सिफारिससमेत पेश गर्नुपर्नेछ।

२०४२ साल जेठ ५ गते स्थापित तमु धिं नेपालको संस्थापक अध्यक्ष कर्म तमुले ३६ वर्ष नेतृत्व गरेका थिए। त्यसपछि वर्तमान अध्यक्ष हुमबहादुर गुरुङले नेतृत्व सम्हाल्दै आएका छन्। उनको दोस्रो कार्यकाल अर्थात् ६ वर्षे अवधि समाप्त हुँदै गर्दा नयाँ नेतृत्व चयन हुन लागेको हो। वर्तमान अध्यक्ष गुरुङले १७औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने सोच बनाएको बताइए पनि उनलाई पुनः अध्यक्ष बन्न दबाबसमेत रहेको छ। यद्यपि, गुरुङले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन्।

गुरुङले मतदानको अवस्था सिर्जना हुँदा मतसँगै मनसमेत विभाजित हुन सक्ने भएकाले तमु धिं नेपालको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्ने धारणा राख्दै आएका छन्। वर्तमान अध्यक्ष गुरुङले नेतृत्व हस्तान्तरण गरेमा वरिष्ठ उपाध्यक्ष तथा अनुभवी अग्रज सुवेदार मेजर श्रीप्रसाद गुरुङ अध्यक्षका सम्भावित दाबेदारका रूपमा देखिएका छन्।

मनोनयन दर्ताको समय नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीबीच छलफल जारी रहेकाले अन्तिम अवस्थामा सर्वसम्मत नेतृत्व चयन हुन्छ वा निर्वाचनमार्फत नेतृत्व चुनिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १७:१३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology