Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन : ‘विपद्मा सङ्घीय सरकारको दरिलो साथ सहयोग पायौँ’

स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन : ‘विपद्मा सङ्घीय सरकारको दरिलो साथ सहयोग पायौँ’

इच्छाकामना न्युज

२९, भाद्र २०८३
स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन : ‘विपद्मा सङ्घीय सरकारको दरिलो साथ सहयोग पायौँ’
images

काठमाडौँ । भोटोकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले विपद्को समयमा सङ्घीय सरकारले प्रभावात्मक काम गरेको भन्दै प्रसंशा गर्नुभएको छ । यही भदौ १० गतेको बाढीलगत्तै खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि केन्द्र सरकारले चालेका कदमको उहाँहरूले सरहाना गर्नुभयो ।

images
images

प्रधानमन्त्री वालेन्द्र शाहसँग आज भएको छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो ।

छलफलका क्रममा जनप्रतिनिधिहरूले बाढीलगत्तै केन्द्र सरकारले स्थानीय तहहरूसँग समन्वय गरी मन्त्री तथा कर्मचारीहरूलाई प्रभावित क्षेत्रमा निरन्तर खटाएको र खोज, उद्धार तथा राहतको नियमित अनुगमन गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको वास्तविक स्थिति बुझ्न आफूहरूलाई कार्यालयमै बोलाएर छलफल गर्नु सकारात्मक भएको उहाँहरूको भनाइ थियो ।

धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले विपद्को समयमा सङ्घीय सरकारले प्रभावकारी काम गरेको बताउनुभयो । “यति ठूलो विपत्ति कहिल्यै आएको थिएन, विपद्लगतै सरकारले खोज, उद्धार र राहतलाई प्रभावकारी बनायो, विगतका विपद्मा त्यस्तो देखिएको थिएन, म यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

नुवाकोट विदुर नगरपालिकाका अध्यक्ष राजन श्रेष्ठले केन्द्र सरकारको समन्वयमा तत्काल खोज, उद्धार सुरु भएकामा सङ्घ सरकारको प्रशंसा गर्नुभयो । उहाँले नियमित अनुगमन र निरीक्षण सङ्घबाट प्रभावकारी रूपमा भइरहेको बताउनुभयो ।

भविष्यमा प्रभावित क्षेत्रका नागरिकहरूको पुनस्र्थापनाका लागि सङ्घीय सरकारसँग निरन्तर सहकार्य, समन्वय र सहजीकरण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गर्नुभएको थियो । विपद् व्यवस्थापनमा कुनै पनि भेदभाव नगरी काम हुनुपर्नेमा जोड दिँदै उहाँहरूले प्रभावित क्षेत्रमा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूले घर बनाइदिने र बालबालिकालाई आश्रय दिने जस्ता आश्वासन दिन थालेकाले संशय उत्पन्न भएको हुँदा निगरानी राख्न सरकारसँग आग्रह गर्नुभयो ।

जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँहरूले बाढी प्रभावित तटीय क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्दै नजिकैको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न र त्यसमा आफूहरू पनि प्रतिबद्ध रहेको बताउनुभयो ।

छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधिसभासभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो ।

साथै बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरका साथै नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी हुनुहुन्थ्यो ।

साथै धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ९विवेक०, तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना ९साकार० पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । 

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १९:५०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology