काठमाडौं । हरितालिका तीजको अवसरमा आज नेपाली महिलाले दर खाँदैछन्। भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहिआएको छ। दरका रूपमा दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायतका पौष्टिक खानेकुरा खाने चलन छ।
शास्त्रीय मान्यताअनुसार तीजको व्रत बस्नुअघि अघिल्लो दिन राति दर खाने गरिन्छ। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुन्छ।
तीज महिलाले आफ्ना दुःख, पीडा र भोगाइलाई गीत तथा नृत्यमार्फत व्यक्त गर्ने सांस्कृतिक पर्वका रूपमा पनि लिइन्छ। तर पछिल्लो समय तीजका नाममा महिनौँअघि नै दर खाने, गरगहना तथा पोसाक प्रदर्शन गर्ने र तडकभडक बढ्ने क्रमले यसको मौलिकता कमजोर बनाउँदै गएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ।
धर्मशास्त्रविद् तथा समाजशास्त्रीहरूले तीजलाई भड्किलोभन्दा पनि परम्परा, संस्कृति र मौलिकता जोगाउँदै मनाउन आग्रह गरेका छन्।
तीजको दोस्रो दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन सप्तऋषि तथा अरुन्धतीको पूजा गरेपछि तीज पर्व समापन हुन्छ। धार्मिक मान्यताअनुसार पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्यासँग तीज पर्व जोडिएको छ।