चितवन । भरतपुर महानगरपालिका–१३ स्थित आत्मामिलन आमा समूहले भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि २० हजार ५२० रुपैयाँ प्रदान गरेको छ।
महिलाहरूको महान् चाड तीज नजिकिँदै गर्दा आमा समूहले तीजको दर खाने कार्यक्रमका लागि छुट्याएको रकम भने यसपटक बाढीपीडितको सहयोगमा खर्च गर्ने निर्णय गरेको हो। समूहले दर खाने कार्यक्रम नै स्थगित गरी त्यसका लागि छुट्याइएको रकम प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण धेरै परिवारले ठूलो क्षति व्यहोर्नुपरेको तथा कतिपय परिवार अहिले पनि समस्यामा रहेकाले चाडपर्वमा गरिने खर्च कटौती गरेर विपद्मा परेका नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको आमा समूहकी अध्यक्ष देवीकुमारी शर्माले बताउनुभयो।
तीजको अवसरमा रमाइलो र दर खाने कार्यक्रम आयोजना गर्नुको सट्टा विपद्मा परेका परिवारको दुःखमा साथ दिनु अहिलेको आवश्यकता भएको भन्दै समूहले सहयोग रकम राहत कोषमा जम्मा गरेको हो।
आमा समूहले आफ्नो सानो सहयोगले बाढीपीडित परिवारको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को समयमा व्यक्तिगत तथा सामूहिक रूपमा सक्दो सहयोग गर्न पनि समूहले सबैमा आग्रह गरेको छ।
यसरी चाडपर्वका लागि छुट्याइएको रकमसमेत विपद्मा परेका नागरिकको सहयोगमा समर्पित गर्दै आत्मामिलन आमा समूहले सामाजिक उत्तरदायित्व र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको छ।