भरतपुर । इनर ह्वील क्लब अफ भरतपुर सिटी र डिभाइनको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका–१६ स्थित श्री आधारभूत विद्यालय शरणपुरमा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

६१औँ राष्ट्रिय बालदिवसको अवसरमा आयोजित कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई झोला, कापी, कलम, पेन्सिल, चकलेट र बिस्कुटलगायतका सामग्री वितरण गरिएको थियो। साथै विद्यालयको हलका लागि आवश्यक कार्पेटसमेत हस्तान्तरण गरिएको छ।

इनर ह्वील क्लब अफ भरतपुर सिटीकी अध्यक्ष लक्ष्मी खड्का केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी पूर्वअध्यक्ष तथा समाजसेवी सीता श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुवानीप्रसाद पौडेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा इनर ह्वील क्लबकी आईपीपी मीना गुरुङ,डिभाइनकी आईपीपी शमिला घले,पास्ट प्रेसिडेन्ट सुनुजा श्रेष्ठ तथा उपाध्यक्ष सङ्गिता थापा मगरलगायतको उपस्थिति थियो।
‘स्वार्थभन्दा माथि सेवाको भावले’ भन्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा दुईवटै क्लबका बोर्ड पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले बालबालिकाको शिक्षा र विद्यालयको वातावरण सुधारका लागि गरिने यस्ता सहयोगले विद्यार्थीको अध्ययनमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए। आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरेको छ।