काठमाडौं। काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन अब उपभोक्ताले जुनसुकै कम्पनीको सिलिन्डरसँग आफुसंग भएको सिलिन्डर साटेर ग्यास लिन पाउने भएका छन्।
सिलिन्डर साट्दा अर्को कम्पनीको यसअघि थप रकम तिर्नुपर्ने भएता पनि अब भने उही मूल्यमा सिलिन्डर साटासाट गर्न पाइने भएको हो । भोटेकोशी बाढीले सडक संरचनामा क्षति पुर्याएकाले उपत्यकामा ग्यास ढुवानीमा झन बढि प्रभावित बनाएको हो ।
उपभोक्ताहरु ग्यास भर्न अझै लाइनमा बसेरै आफ्नो पालो पर्खिनु पर्ने बाध्यता रहेको छ । उपभोक्तको समस्यालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यस्तो व्यवस्था तत्काल लागू गर्न निर्देशन दिइनुभयो ।
उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत काम गर्ने व्यवसायी तथा उद्योगमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिनुभयो ।