चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री माननीय गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले भरतपुर महानगरपालिका–१७, गोब्रेनीमा निर्माण भइरहेको नारायणी नदीको आपत्कालीन कटान रोकथाम कार्यको निरीक्षण गरेका छन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढेसँगै गोब्रेनी क्षेत्रमा नदीले उच्च कटान गरेको थियो। उक्त क्षेत्र मन्त्री तामाङको निर्वाचन क्षेत्रसमेत हो।
नदी कटानका कारण जोखिम बढेपछि मन्त्री तामाङको विशेष पहलमा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको ५०/५० लाख रुपैयाँ गरी कुल १ करोड रुपैयाँको लागतमा आपत्कालीन नदी नियन्त्रणको काम सुरु गरिएको छ । नदी नियन्त्रणका लागि भइरहेको निर्माण कार्यबाट भरतपुर महानगरपालिकाका वडा नम्बर १७, १८, २६, २७ र २८ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
निरीक्षणका क्रममा मन्त्री तामाङले नदी कटान नियन्त्रणको कामलाई प्रभावकारी र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक समन्वय तथा सक्रियताका साथ अघि बढ्न निर्देशन दिएका छन् । बाढीपछि नदीको कटानका कारण जोखिममा परेका बस्ती तथा संरचनाको संरक्षणका लागि अहिले गोब्रेनी क्षेत्रमा आपत्कालीन रूपमा नदी नियन्त्रणको काम धमाधम भइरहेको छ।