Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाढीको त्रासले चितवनको पर्यटन थलियो, सुनसान बने पर्यटकीय क्षेत्र

बाढीको त्रासले चितवनको पर्यटन थलियो, सुनसान बने पर्यटकीय क्षेत्र

इच्छाकामना न्युज

२२, भाद्र २०८३
बाढीको त्रासले चितवनको पर्यटन थलियो, सुनसान बने पर्यटकीय क्षेत्र
images

चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा यतिबेला पर्यटकको आवागमन बढ्दै जाने बेला हो । विगतमा आन्तरिक तथा बाह्य पर्यटकहरु यो समयमा बढ्दै गएको तथ्यांक छ । तर यसपटक भने नगन्य मात्रामा पर्यटक सौराहामा भेटिन्छन् । अहिले होटलको अकुपेन्सी नै ५ प्रतिशत भन्दा कम छ । ‘अहिले हामीकहाँ पर्यटक नै छैन भन्दा फरक पर्दैन, सबैजसो होटलको अकुपेन्सी ५ प्रतिशत भन्दा कम छ’–क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भने ।

images
images

घिमिरेले संचालन गरिरहेको जंगल सफारी लज होटलमा ३४ वटा कोठा छन् । अहिले केही कोठा बाहेक सबै खाली छन् । भएका बुकिङ पनि रद्द भइरहेका छन् । मुग्लिन–काठमाडौँ सडक खण्ड अन्तरगतको धादिङस्थित कृष्णभीरमा बाढीले सडक नै बगाएपछि अहिले पर्यटकहरु चितवन आएका छैनन् । रसुवास्थित भोटेकोशीमा आएको बाढीले चितवनमा क्षति नपु¥याए पनि रसुवा, नुवाकोट, धादिङमा पु¥याएको क्षतिले ट्राभल एडभाइजरीहरुमा नेपाल बारे नराम्रा खबर मात्रै आएकाले यो समस्या आएको पर्यटन व्यवसायी घिमिरेले बताउँछन् ।

‘पूर्व पश्चिम राजमार्गमा कुनै समस्या छैन, हवाई मार्ग हुँदै काठमाडौंबाट पोखरा र पोखराबाट चितवन राजमार्ग हुँदै आउन सकिन्छ तर नेपाल बारे अन्तर्राष्ट्रिय स्तरमा भयाबह अवस्था देखाइएकाले पर्यटन क्षेत्र मार परेको छ’–पर्यटन व्यवसायी घिमिरे भने । मुग्लिन–काठमाडौँ सडक खण्डको विकल्पको रुपमा अहिले हेटौंडा–काठमाडौं (कान्ती लोकपथ), त्रिभुवन राजमार्ग र हेटौंडा–कुलेखानीबाट काठमाडौं पुग्ने सडक मार्ग संचालनमा छ । यी बाटो भएर काठमाडौंबाट पर्यटकहरु चितवन आउन सक्छन् । काठमाडौँ–भरतपुर हवाई उडान हुने भएकाले यहाँ आउन सहज छ । तर चितवनमा पर्यटक भित्रिएका छैनन् ।

केटीएम हस्पिटालिटी अन्तरगतको रोयल टुलिप चितवन होटल सौराहामा स्तरीय पर्यटकका लागि खुलेको नयाँ होटल हो । ६५ वटा कोठा रहेको यो होटलमा पनि भएका बुकिङ पनि धमाधम रद्द भइरहेका छन् । हालसम्म भएका बुकिङ मध्ये ८० प्रतिशत रद्द भएको होटलका अध्यक्ष रामेश्वार साहले जानकारी दिए । ‘बाढीले पर्यटन क्षेत्र निकै मारमा परेको छ, नेपालका पर्यटकीय क्षेत्रहरु बाढीबाट प्रभावित छैनन्, तर सबै ठाउँमा भयाबह रहेको सन्देश गएकाले पर्यटकहरु नेपाल आइरहेका छैनन्’–अध्यक्ष साहले भने ।

बुकिङ गरेका ५० प्रतिशत आन्तरिक तथा ३० प्रतिशत विदेशी पर्यटकहरुले बुकिङ रद्द गरेको साहले बताए । यो होटलमा कन्फ्रेन्स, सेमीनारहरु, विभिन्न संघसंस्थाहरुको बैठकका लागि समेत बुकिङ गरिएको थियो । ती सबै रद्द भएका छन् । ‘चितवनसहितका मुख्य पर्यटकीय क्षेत्रहरु सबै सुरक्षित छन्, तर सरकारी निकायकै पर्यटन विभागका सूचनाहरुमा समेत चितवनलाई प्रभावित देखाईएको छ, यसले नकरात्क असर परेको छ, अब पर्यटकीय क्षेत्रहरु सबै सुरक्षित रहेको मेसेज दिनुपर्छ’–अध्यक्ष साहले भने ।

सौराहामा एकै रात ८ हजार पर्यटकलाई राख्न सकिने क्षमताका कुल १२५ वटा साना तथा ठूला होटलहरु छन् । ती सबै जसो होटल अहिले पर्यटकको पर्खाइमा छ । भएका बुकिङ पनि रद्द हुँदा पर्यटन व्यवसायी चिन्तित छन् । युनिक वाइल्ड रिसोर्टका संचालक एवं क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रसुवामा आएको बाढीका कारण पर्यटकीय क्षेत्र सौराहा पूर्ण रुपमा प्रभावित बनेको बताए । ‘हाम्रो पर्यटन क्षेत्र नराम्री प्रभावित बनेको छ, सौराहामा छिटपुट केही चिनियाँ पर्यटक देखिन्छन्, अरु पर्यटक देख्न मुश्किल भइसक्यो, अहिले सरदर होटलको अकुपेन्सी १ प्रतिशत पनि छैन’–उपाध्यक्ष थपलियाले भने ।

चितवन घुम्नका लागि पर्यटकहरु सौराहा मात्रै आउदैनन् । चितवनको पश्चिमी क्षेत्र पटिहानी र मेघौलीमा पनि स्तरीय विदेशी पर्यटकहरु पुग्ने गरेका छन् । यहाँ ठूला–ठूला स्टार होटलहरु रहेका छन् । ती होटलहरु पनि अहिले पर्यटकको पर्खाइमा पुगेका छन् । भरतपुर महानगरपालिका–२२, पटिहानीस्थित सोल्टी वेस्टेन्ड चितवन रिसोर्टमा रसुवामा आएको बाढीपछि पर्यटक देख्न मुश्किल छ । अहिले रिसोर्टको अकुपेन्सी मुश्किलले ५ प्रतिशत रहेको महाप्रवन्धक चोपलाल पाण्डे बताउँछन् । ‘अहिले विदेशी पर्यटकहरुको धमाधम बुकिङ रद्दको मेसेज आइरहेको छ, बुकिङ भएकोमा करिव ४० प्रतिशत रद्द भइसकेको छ, अक्टोबर मात्र नभई नोभेम्बर सम्मको बुकिङ पनि रद्द गर्न थालेकाले समस्या जटिल बन्ने देखिन्छ’–पाण्डेले भने ।

६२ वटा कोठा रहेको सोल्टीमा ३ वटा साना तथा ठूला हलहरु छन् । यो बेला कर्पोरेट विजनेशहरु प्नि आइरहेका थिए । तर ती सबै रोकिएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्ज भ्रमणका लागि सौराहा, पटिहानी, जगतपुर, मेघौली आउने गरेका छन् । यहाँ निकुञ्जमा जीप सफारी, जंगलवाक गर्न पर्यटक पुग्ने गरेका छन् भने निकुञ्जसंग जोडिएका सामुदायिक वनहरुमा हात्ती सफारी, जीप सफारी, राप्ती नदीमा डुंगा सफारी गर्ने गरेका छन् । चितवनमा आर्थिक वर्ष २०८२/८३ मा २ लाख ७२ हजार बढी स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - १४:५६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology