Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रसुवाका बाढीपीडितका लागि देवघाट–५ रातामाटे सुन्दरबस्तीबाट २२ हजार ६९५ रुपैयाँ सहयोग

रसुवाका बाढीपीडितका लागि देवघाट–५ रातामाटे सुन्दरबस्तीबाट २२ हजार ६९५ रुपैयाँ सहयोग

इच्छाकामना न्युज

१९, भाद्र २०८३
रसुवाका बाढीपीडितका लागि देवघाट–५ रातामाटे सुन्दरबस्तीबाट २२ हजार ६९५ रुपैयाँ सहयोग
images
देवघाट । विपद्ले रसुवाका थुप्रै परिवारको घर–आँगन मात्र होइन, उनीहरूले वर्षौं लगाएर सजाएका सपना, खुसी र दैनिकीसमेत तहसनहस बनाइरहेका बेला देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रातामाटे सुन्दरबस्ती नमुना गाउँले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।
 
रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिने उद्देश्यले स्थानीय वासीबाट आर्थिक सहयोग सङ्कलन गरी २२ हजार ६ सय ९५ रुपैयाँ देवघाट गाउँपालिका–५ का वडा अध्यक्ष तथा राहत सङ्कलन समितिका संयोजक पूर्णबहादुर कुँवरलाई हस्तान्तरण गरिएको छ। विपद्को घडीमा पीडितलाई ‘हामी एक्ला छैनौँ’ भन्ने अनुभूति दिलाउने उद्देश्यले टोल विकास संस्थामार्फत घरघरमा पुगेर सहयोग सङ्कलन गरिएको रातामाटे सुन्दरबस्ती टोल विकास संस्थाका सचिव विष्णुबहादुर मगरले बताए।
 
उनले देवघाटमा विभिन्न संघ–संस्थाले बाढीपीडितका लागि आर्थिक सहयोग सङ्कलन गरिरहेको भए पनि टोल विकास संस्थामार्फत अभियान सञ्चालन गर्दा प्रत्येक घरपरिवारसम्म सहयोगको सन्देश पुग्ने विश्वास व्यक्त गरे। “सहयोग ठूलो वा सानो हुँदैन, पीडाको समयमा बढाइएको हात नै सबैभन्दा ठूलो मानवीयता हो,” मगरले भने, “एउटा टोलबाट सुरु भएको यो अभियान हरेक टोल र हरेक घरसम्म पुग्न सके पीडितका लागि ठूलो राहत जुटाउन सकिन्छ।” देवघाट गाउँपालिका वडा नम्बर ५ मा मात्र २१ वटा टोल रहेको उल्लेख गर्दै उनले सबै २१ वटा टोलले आ–आफ्नो क्षमता अनुसार सहयोग गरेमा उल्लेख्य रकम सङ्कलन हुन सक्ने बताए। देवघाटबाट सुरु भएको यस्तो मानवीय अभियानलाई देशभरका टोल, समुदाय र स्थानीय तहसम्म विस्तार गर्न सके विपद्मा परेका नागरिकलाई ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।
 
कार्यक्रममा देवघाट गाउँपालिका तनहुँको रसुवा बाढीपीडित राहत सङ्कलन समितिका संयोजक तथा देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले वडा नम्बर ५ अन्तर्गत रहेका २१ वटा टोलमध्ये रातामाटे सुन्दरबस्ती टोलले सबै भन्दा पहिलो रूपमा राहत रकम हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको बताए। उनले रातामाटे सुन्दरबस्तीको यो सहयोग केवल रकम हस्तान्तरण मात्र नभई विपद्मा परेका परिवारप्रतिको माया, सद्भाव र मानवीय जिम्मेवारीको प्रतीक भएको उल्लेख गरे।
 
कुँवरले वडा नम्बर ५ अन्तर्गत रहेका अन्य २० वटा टोललाई पनि आफ्नो क्षमता अनुसार सहयोग अभियानमा जोडिन आग्रह गर्दै भने, “आज रसुवाका परिवार पीडामा छन्, भोलि विपद् कसको ढोकामा आइपर्छ भन्न सकिँदैन। त्यसैले दुःखको समयमा एकअर्काको साथमा उभिनु नै हाम्रो सबैभन्दा ठूलो धर्म र कर्तव्य हो।” उनका अनुसार देवघाट गाउँपालिका अन्तर्गत विभिन्न टोल, संघ–संस्था, सामाजिक अभियन्ता तथा समुदायबाट सङ्कलन भइरहेको सम्पूर्ण आर्थिक सहयोगलाई एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पठाइनेछ। यसरी सङ्कलित रकमलाई व्यवस्थित र पारदर्शी रूपमा सम्बन्धित निकायसम्म पुर्याई बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्य रहेको कुँवरले बताए।
 
उनले व्यक्तिगत वा संस्थागत रूपमा छुट्टाछुट्टै सहयोग पठाउनुभन्दा एकद्वार प्रणालीमार्फत राहत रकम पठाउँदा सहयोगको उचित व्यवस्थापन, पारदर्शिता तथा प्रभावकारी वितरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विपद्ले भौतिक संरचना बगाउन सक्छ, घर भत्काउन सक्छ र वर्षौंका सपना तहसनहस बनाउन सक्छ, तर संकटको समयमा एकजुट भएको समाजको मानवीयता भने कुनै बाढीले बगाउन सक्दैन। रातामाटे सुन्दरबस्ती नमुना गाउँले सुरु गरेको यो सहयोग अभियानले ‘थोरै–थोरै हात जोडिँदा पनि पीडितको जीवनमा ठूलो आशा बन्न सक्छ’ भन्ने सन्देश दिएको छ।

images
प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - १६:४३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology