Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वरिष्ठ गीतकार तथा संगीतकार धनबहादुर गुरुङलाई लोकबहादुर गुरुङ स्मृति गीत–संगीत पुरस्कार

वरिष्ठ गीतकार तथा संगीतकार धनबहादुर गुरुङलाई लोकबहादुर गुरुङ स्मृति गीत–संगीत पुरस्कार

इच्छाकामना न्युज

१९, भाद्र २०८३
वरिष्ठ गीतकार तथा संगीतकार धनबहादुर गुरुङलाई लोकबहादुर गुरुङ स्मृति गीत–संगीत पुरस्कार
images

पोखरा । वरिष्ठ संस्कृतिकर्मी लोकबहादुर गुरुङको स्मृतिमा स्थापित लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले यस वर्षको लोकबहादुर गुरुङ स्मृति गीत–संगीत पुरस्कार वरिष्ठ गीतकार तथा संगीतकार धनबहादुर गुरुङलाई प्रदान गरेको छ। प्रतिष्ठानले शुक्रबार पोखरामा आयोजना गरेको १२औँ स्मृति दिवस समारोहमा बेँसीशहर नगरपालिका–५, नाल्माका धनबहादुरलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको प्रतिष्ठानकी सचिव रोशनी गुरुङले बताइन ।

images
images

प्रतिष्ठानका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बेदबहादुर गुरुङ (श्याम), स्वर्गीय लोकबहादुर गुरुङकी धर्मपत्नी सीता शेरचन गुरुङसहित परिवारका सदस्य तथा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष राजेश गुरुङलगायतले धनबहादुरलाई फेटा, भाङ्ग्रा, दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका थिए। चार दशकभन्दा लामो समयदेखि गीत–संगीत क्षेत्रमा सक्रिय धनबहादुरले गुरुङ गीत–संगीतको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।

उनका सिर्जना तथा संगीतले गुरुङ समुदायको भाषा, संस्कृति र मौलिकतालाई गीत–संगीतमार्फत पुस्तान्तरण गर्न योगदान पुर्याएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा लोकबहादुर गुरुङका सुपुत्र आषिश गुरुङ, गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाह) की अध्यक्ष माया गुरुङ, गुरुङ साहित्यिक प्रतिष्ठान नेपालकी सस्थापक अध्यक्ष गौरीसरा गुरुङलगायतको उपस्थिति थियो । प्रतिष्ठानले लोकबहादुरले योगदान पुर्याएका गुरुङ चलचित्र, गीत–संगीत, शिक्षा तथा पत्रकारितालगायतका क्षेत्रमा सक्रिय स्रष्टा तथा व्यक्तित्वलाई हरेक वर्ष स्मृति दिवसका अवसरमा सम्मान गर्दै आएको छ।

स्वर्गीय लोकबहादुर गुरुङको जन्म वि.सं. २००४ भदौ ५ गते कास्कीको तत्कालीन मौजा गाविस–आँटीघर लामास्वाँरामा पिता डम्मरबहादुर गुरुङ र माता भानुकुमारी गुरुङको कोखबाट भएको थियो। उनको निधन वि.सं. २०७१ भदौ १९ गते ६७ वर्षको उमेरमा भएको थियो। शिक्षण पेसाबाट सार्वजनिक जीवन सुरु गरेका लोकबहादुरले पोखराको अमरसिंह माध्यमिक विद्यालयमा लामो समय अध्यापन गर्नुका साथै भद्रकाली माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए।

अवकाशपछि उनी पत्रकारिता, गीत–संगीत र गुरुङ चलचित्र क्षेत्रमा सक्रिय भएका थिए। उनले ‘तमु संसार’ त्रैमासिक पत्रिकाको स्थापना, प्रकाशन तथा सम्पादन गर्दै गुरुङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेले। अभियान फिल्मस् प्रालिमार्फत गुरुङ भाषाका चलचित्र निर्माणमा समेत सक्रिय उनले वि.सं. २०५८ मा ‘ङयोए नास ट्हों’ चलचित्रको निर्देशन गरेका थिए। उक्त चलचित्रले पोखरामा ५१औँ दिन मनाउन सफल भएको थियो। लोकबहादुरले ‘ङयोए नास ट्हों’ (हाम्रो गाउँघर),‘हेर्बे ट’ (लेकाली फूल), ‘चो’ (बुहारी), ‘क्रमु’ (पछ्यौरी),‘प्ह्रेँस्यो’ (दुलही), ‘धीँ’ (घर) लगायतका गुरुङ चलचित्र निर्माण तथा निर्देशनमा योगदान गरेका थिए।

उनका गीत, संगीत र चलचित्रका माध्यमबाट गुरुङ समाजको भाषा, संस्कार, संस्कृति र मौलिक जीवनशैलीलाई अभिलेखित र पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुगेको देखिन्छ। उनको निधनपछि गुरुङ भाषा, कला, साहित्य, गीत–संगीत तथा चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदानलाई संस्थागत रूपमा स्मरण र संरक्षण गर्ने उद्देश्यले लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान स्थापना गरिएको हो। प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते स्मृति दिवस आयोजना गर्दै विभिन्न विधामा योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्दै आएको छ।

images
प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - १३:५२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology