अन्तर्राष्ट्रिय तमु परिषद् आईटीसीले तमु गुरुङ सञ्चारकर्मी संघ नेपाल र तमुस्यो ह्युलालाई आ–आफ्नो महाधिवेशन सम्पन्न गर्न नगद सहयोगसहित शुभकामना दिएको छ।
काठमाडौंस्थित तमु ह्युल छोंज धिंको केन्द्रीय कार्यालयमा बुधबार परिषद्का कोषाध्यक्ष गङ्गा गुरुङले तमु गुरुङ सञ्चारकर्मी संघ नेपालका तर्फबाट पत्रकार नवीनबाबु गुरुङलाई ३० हजार रुपैयाँ र तमुस्यो ह्युलाका पदाधिकारीलाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभयो।परिषद्का पदाधिकारीहरूको बैठकले गरेको निर्णयअनुसार दुवै संस्थालाई सहयोग गरिएको कोषाध्यक्ष गुरुङले बताउनुभयो।
तमु गुरुङ सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महाधिवेशन असोज २, ३ र ४ गते कास्कीको सिक्लेसमा हुँदैछ। त्यस्तै तमुस्यो ह्युलाको महाधिवेशन असोज १० र ११ गते काठमाडौंमा आयोजना हुँदैछ। यसैबीच परिषद्ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तमु गुरुङ समुदाय तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णयसमेत गरेको छ।
परिषद्का महासचिव अधिवक्ता राजु गुरुङका अनुसार विश्वभर रहेका तमु गुरुङ समुदायलाई एकजुट गर्दै बाढी प्रभावितका लागि सहयोग अभियान अघि बढाइएको छ।