देवघाट । देवघाट क्षेत्र विकास समितिको निर्देशक पदमा पुकार भट्ट नियुक्त भएका छन्। भट्टले सोमबार निर्देशक पदको शपथ ग्रहण गरेका हुन्। देवघाट जन्मथलो भएका भट्ट हाल चितवनको आँपटारीमा बसोबास गर्दै आएका छन्। उनका बुवा टंकप्रसाद भट्ट र आमा कल्पना भट्टले देवघाटको शिक्षा क्षेत्रमा योगदान दिएका छन्।
पेसाले आईटी इन्जिनियर रहेका भट्टको नियुक्तिसँगै देवघाट क्षेत्रको धार्मिक,सांस्कृतिक तथा पर्यटन विकासमा प्रविधिको प्रयोग र नयाँ सोचले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
निर्देशकको जिम्मेवारी सम्हालेसँगै भट्टले देवघाटको विकास, प्रवर्द्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउनेतर्फ काम गर्ने बताइएको छ। स्थानीय युवामाझ परिचित भट्टको नियुक्तिलाई देवघाटको विकासमा युवा पुस्ताको सहभागिता र नयाँ नेतृत्वको सुरुवातका रूपमा समेत हेरिएको छ।