देवघाट। सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाप्रति चिन्ता व्यक्त गर्दै देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
उनले नेपाल बहुधार्मिक,बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले कुनै पनि प्रकारको हिंसा,द्वन्द्व वा अशान्तिले राष्ट्रिय एकतालाई कमजोर बनाउने बताए। सबै धर्मावलम्बीले संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको सम्मान गर्दै आफ्नो आस्था र परम्पराअनुसार धर्म पालन गर्न पाउनुपर्ने र एकअर्काप्रति पारस्परिक सम्मान कायम रहनुपर्नेमा उनले जोड दिए।
स्वामी आत्मानन्द गिरीले नेपालगञ्ज, लहान, वीरगञ्जलगायत सीमावर्ती क्षेत्रमा देखिएका घटनाको निष्पक्ष छानबिन गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे। संवेदनशील विषयलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर संवाद, सहमति र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।
उनले हिमाल,पहाड,तराई,कोही छैन पराईू भन्ने राष्ट्रिय भावनालाई व्यवहारमा उतार्न सबै नागरिकलाई आग्रह गर्दै शान्तिपूर्ण सहअस्तित्व नै नेपालको पहिचान भएको बताए। कुनै पनि समुदायबीच अविश्वास,द्वेष वा विभाजन बढाउने गतिविधि राष्ट्रहितविपरीत हुने उनको धारणा थियो।
उनले सुरक्षा निकायलाई राजनीतिक विवादमा अनावश्यक रूपमा तान्न नहुने उल्लेख गर्दै संवेदनशील घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार दोषीमाथि कारबाही र संवादमार्फत दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिए। सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि उनले जोड दिए।
उनले अन्त्यमा सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन संयम, संवाद र सहकार्यको मार्ग अपनाउन आग्रह गर्दै दीर्घकालीन समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको धारणा व्यक्त गरे।