भारतको प्रतिष्ठित तथा कृषि क्षेत्रमा अग्रणी Punjab Agricultural University (PAU), Ludhiana का कुलपति (Vice Chancellor) डा. सतबिर सिंह गोसलको निमन्त्रणामा स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदीको नेतृत्वमा रहेको नेपाली टोलीले विश्वविद्यालयको भ्रमण तथा कृषि प्रविधिको अवलोकन गरेको छ।
विश्वविद्यालयले नेपाली टोलीलाई स्वागत तथा सम्मान गर्दै कृषि आधुनिकीकरण, अनुसन्धान, प्रविधि हस्तान्तरण र नेपालमा आधुनिक कृषि प्रणालीको प्रयोगका सम्भावनाबारे विस्तृत छलफल गरेको थियो। कार्यक्रममा दुवै पक्षले आफ्ना–आफ्ना सफल अभ्यास (Best Practices) आदान–प्रदान गर्दै भविष्यमा कृषि क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक संवाद गरेका थिए। PAU का तर्फबाट कुलपति डा. सतबिर सिंह गोसलसहित रजिस्ट्रार डा. ऋषि पाल सिंह (IAS), अनुसन्धान निर्देशक डा. अजमेर सिंह धट्ट, एक्सटेन्सन एजुकेसन निर्देशक डा. मखन सिंह भुल्लर, डिन (पोस्टग्राजुएट स्टडिज) डा. विशवजीत सिंह हान्स, कृषि संकायका डिन डा. चरणजीत सिंह औलख, बागवानी तथा वन संकायका डिन डा. ऋषि इन्द्र सिंह गिल, कृषि इन्जिनियरिङ तथा प्रविधि संकायका डिन डा. मनजीत सिंह, कम्युनिटी साइन्स संकायकी डिन डा. किरण बैन्स, विद्यार्थी कल्याण निर्देशक डा. कमलजीत सिंह सुरी, अतिरिक्त सञ्चार निर्देशक डा. तेजिन्दर सिंह रियार तथा एसोसिएट डाइरेक्टर (Institution Relations) डा. विशाल बेक्टरको सहभागिता रहेको थियो।

नेपालका तर्फबाट फेदीखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदी, श्री जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फर्म प्रा.लि.का निर्देशक विष्णु प्रसाद पोख्रेल तथा फेदीखोला साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नेत्रबहादुर कार्की सहभागी थिए। टोलीले विश्वविद्यालयका विभिन्न अनुसन्धान केन्द्र, प्रयोगशाला तथा कृषि प्रविधिको अवलोकन गर्दै ती प्रविधिहरू नेपालमा प्रयोग गर्न सकिने सम्भावनाबारे सकारात्मक छलफल गरेको थियो।
भ्रमणको मुख्य उद्देश्य फेदीखोला गाउँपालिकामा कृषि यन्त्रीकरण, आधुनिक प्रविधिको प्रयोग तथा उत्पादन वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नु रहेको अध्यक्ष सुवेदीले बताए। उनले गाउँपालिकाले कृषकलाई कृषि अनुदान, तालिम तथा बिना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको जानकारी दिँदै PAU का सफल अभ्यासहरूबाट धेरै सिक्ने अवसर प्राप्त भएको बताए।
यस अवसरमा कुलपति डा. सतबिर सिंह गोसलले हाल PAU मा नेपालबाट हरेक वर्ष ५–६ जना विद्यार्थी अध्ययनका लागि आउने गरेको जानकारी दिँदै अहिले कपिलवस्तुका र इटहरीका नेहा पाण्डे,कृष्ण अधिकारी,सदिच्छा शाह अध्ययनरत रहेको उल्लेख गरे। साथै उनले नेपाल–भारतबीच कृषि शिक्षा, अनुसन्धान तथा प्रविधि आदान–प्रदानलाई अझ विस्तार गर्न विश्वविद्यालय सधैं सकारात्मक रहेको बताए।
उक्त भ्रमण तथा समन्वयमा ल्याब असिस्टेन्ट सुरजले महत्वपूर्ण सहजीकरण गरेका थिए।
सन् १९६२ मा स्थापना भएको Punjab Agricultural University (PAU), Ludhiana भारतको अग्रणी कृषि विश्वविद्यालयमध्ये एक हो। कृषि शिक्षा, अनुसन्धान तथा प्रविधि विस्तारमार्फत भारतको हरित क्रान्तिमा उल्लेखनीय योगदान पुर्याएको यस विश्वविद्यालयले गहुँ, धान लगायतका उन्नत जात विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। फेदीखोला गाउँपालिकाले व्यावसायिक तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहन गर्दै टनेल खेती, जैविक मल र उन्नत बीउबिजनको प्रयोगलाई विस्तार गरेको छ। साथै, कृषक समूह र सहकारीमार्फत उत्पादन तथा बजारीकरणलाई सुदृढ बनाइएको छ।
गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरी कृषकका उत्पादनहरू खेतबाट बजारसम्म छिटो, सुरक्षित र सहज रूपमा ढुवानी गर्ने व्यवस्था गरेको छ। यसका साथै कृषकलाई तालिम, प्राविधिक सेवा र आवश्यक कृषि सामग्री उपलब्ध गराएर कृषि उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुर्याएको छ।