Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

देवघाट गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

इच्छाकामना न्युज

१२, आषाढ २०८३
देवघाट गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

देवघाट । देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ५८ लाख ६७ हजार रूपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । पालिकाको गाउँसभा तथा अठारौँ अधिवेशनबाट नयाँ आर्थिक वर्षका लागि उक्त बजेट सार्वजनिक गरेको हो । पालिकाले नयाँ आर्थिक वर्षका निम्ति अघिल्लो आर्थिक वर्षको भन्दा एक करोड ८४ लाख रूपैयाँ बढी बजेट सार्वजनिक गरेको हो ।

images

जसमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत प्राप्त रू. आठ करोड ३२ लाख, राजस्व बाँडफाँटबाट रू. आठ करोड ४५ लाख ३४ हजार, सङ्घीय सरकारबाट प्राप्त ससर्त अनुदान चालूतर्फ कुल रू. २२ करोड ५६ लाख ३२ हजार र पुँजीगततर्फ रू. एक करोड १२ लाख रूपैयाँ अनुमान गरिएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले जानकारी गराए ।

यस्तै, सङ्घीय विशेष अनुदानअन्तर्गत प्राप्त रू. ८६ लाख, सङ्घीय समपूरक अनुदान रू. ७० लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रू. ९७ लाख एक हजार, विशेष अनुदानअन्तर्गत प्राप्त रू. ४० लाख र प्रदेश समपूरक अनुदान रू. ६० लाख, प्रदेश राजस्व बाँडफाँट ६० लाख अनुमान गरिएको उपाध्यक्ष गुरूङद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आर्थिक वर्षका लागि प्रक्षेपित आन्तरिक आयस्रोततर्फ रू. एक करोड, चालू आर्थिक वर्षबाट खर्च नभई बाँकी रहन सक्ने अनुमानित रकम रू. छ करोड, नदीजन्य पदार्थबाट रू. चार करोड र सामाजिक सुरक्षा तथा संरक्षणतर्फ प्राप्त रकम रू. आठ करोड तीन लाख अनुमान गरिएको उनले बताए ।

नयाँ आर्थिक वर्षका लागि चालू खर्चतर्फ कुल ३९ करोड १७ लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको छ । कुल पुँजीगत खर्च रू. १६ करोड ४१ लाख १७ हजार प्रस्ताव गरिएको छ । स्थानीय तहहरुको कार्यान्वयनपश्चात् आमजनतामा धेरै अपेक्षा बढ्दै गएको हुँदा बस्ती–बस्तीमा स्थानीय तहको अनुभूति दिलाउने गरी काम गर्नुपर्ने दायित्व स्थानीय सरकारको काँधमा आएको उनले बताए ।

त्यसकारण, आगामी आर्थिक वर्षका लागि हरेक वडाहरुमा समानुपातिक विकासका लागि आवश्यक स्रोत सुनिश्चित गरी सोही वडाअन्तर्गत वडावासीले प्रस्ताव गरी पठाइएका आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ छनोट गरिएको उनले बताए । ‘गाउँवासी सबैका अपेक्षालाई एकैपटकमा सम्बोधन गर्न कठिन हुने भएकाले जनस्तरबाट छनोट भई आएका, तर चालू आर्थिक वर्षका लागि बजेट विनियोजन हुन नसकेका योजना तथा कार्यक्रमहरुलाई योजना बैंकको रुपमा सूचीकृत गरी प्राथमिकताका आधारमा प्रदेश सरकार तथा सङ्घीय सरकारमा सिफारिससाथ पठाउने व्यवस्था मिलाइने छ’, उनले भने ।

गाउँपालिका क्षेत्रभित्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्यसेवाको अभाव हुन नदिन १० शैयाको आधारभूत अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेकोले आगामी आर्थिक वर्षभित्रमा अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको उनले बताए । त्यसका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारसँग आवश्यक बजेट व्यवस्थाका लागि अनुरोध गर्ने उनको भनाइ छ ।

उपाध्यक्ष गुरूङले बजेट प्रस्तुत गर्नुपूर्व सभामा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । पालिकाको नीति तथा कार्यक्रमले समग्र देवघाटको बृहत्तर हितमा टेवा पुग्ने विश्वास लिइएको छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०८३ शुक्रवार - १३:५०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology