Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन, क्रियाशील सदस्य मात्रै १५औँ महाधिवेशनमा सहभागी हुन योग्य

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन, क्रियाशील सदस्य मात्रै १५औँ महाधिवेशनमा सहभागी हुन योग्य

images

इच्छाकामना न्युज

२८, जेठ २०८३
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन, क्रियाशील सदस्य मात्रै १५औँ महाधिवेशनमा सहभागी हुन योग्य
images

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आज सकिँदै छ । पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिनेछ । 

महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातसँगै अद्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न अपिल गरेका छन् । 

नेपाली कांग्रेसका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन् । त्यस बाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि सो पार्टीले दिएको छ । 

महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अद्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् । उनले कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहजरूपमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अद्यावधिक गर्न आग्रह गरेका छन् । 

नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ । कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अद्यावधिक अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

विगतमा अरूले फाराम भरिदिँदा केही सदस्यता फर्जी पनि हुन सक्ने भएकाले धेरै सदस्यता देखिएको र अहिले आफैले अनलाइनबाट भर्नु पर्ने भएकाले वास्तविक सदस्यता विवरण तयार हुन लागेको नेताहरूले बताएका छन् । 

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, ‘विगतमा नेताहरूले अरूको नाममा आफैँ फाराम भरिदिँदा देखिने ‘फर्जी संख्या’ भन्दा अहिले कार्यकर्ता आफैँ सचेत भएर अनलाइन फाराम भर्दा संख्या केही कम देखिनु नितान्त स्वाभाविक र यथार्थ हो ।’ 

उनका अनुसार तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अनलाइन प्रणालीमा दर्ता गराउने क्रियाशील सदस्य मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन् । ‘समय घर्किसकेपछि रोएर, कराएर वा केन्द्रीय कार्यालयमा नाराबाजी गरेर कुनै सुनुवाइ हुनेवाला छैन,’ उनले भने । 

विगतमा सदस्यको नामबाहेक अन्य विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित र अद्यावधिक हुन लागेको छ । ‘कांग्रेसलाई प्रविधिमैत्री बनाएर १५औँ महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने अभियान अत्यन्त उत्साहजनक र सन्तोषजनक रूपमा आज सकिँदै छ । आज राति १२ बजेसम्म आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्नु नै कांग्रेसका हरेक इमानदार सिपाहीको बुद्धिमानी हुनेछ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने । 

images
प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - ०९:०२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology