Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

संसद् अधिवेशनका लागि तयारी पूरा

संसद् अधिवेशनका लागि तयारी पूरा

images

इच्छाकामना न्युज

८, चैत्र २०८२
संसद् अधिवेशनका लागि तयारी पूरा
images

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

संसद् बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि यो सभाकक्ष प्रयोग गर्न लागिएको हो । बहुउद्देश्यीय सभाकक्षमा अहिले कुर्सीको व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामेरालगायत मिलाउने काम तीव्र गतिमा भइरहेको छ । सांसदको शपथ चैत १२ गते गराउने योजना अनुसार अस्थायी रूपमा नयाँ सभाकक्ष निर्माण गरिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले संसद् अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले निर्माणाधीन नयाँ संसद् भवन तथा प्रतिनिधि सभा सदस्यको शपथ र संसद् अधिवेशन सञ्चालनका लागि तयार पारिएको अस्थायी कक्षको निरीक्षण गर्दै संसद् अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । अधिवेशनका लागि तयार पारिएको सभाकक्षबारे जानकारी दिँदै गृहमन्त्री अर्यालले प्रतिनिधि सभाको छुट्टै बैठकका साथै आवश्यकता अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको समेत संयुक्त बैठक सञ्चालन गर्ने गरी कक्ष तयारी भएको बताउनुभयो । उहाँका अनुसार आवश्यक परेमा दुवै सदनको संयुक्त बैठक सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार तयार गरिएको छ । सभामुखको कार्यकक्षसमेत तयार भइसकेको छ । 

सभाकक्षभित्र प्रतिनिधि सभा सदस्यलगायत आवश्यक सबैका लागि सिट व्यवस्थापन र फर्निचर व्यवस्थापन सन्तोषजनक किसिमले तयारी अवस्थामा रहेको बताउँदै उहाँले अहिले माइक (साउन्ड सिस्टम) तथा स्क्रिन जडानलगायतको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अस्थायी रूपमा नै सभाकक्ष तयार गरिए पनि फर्निचर र प्रविधिको प्रयोग गुणस्तरीय रहेको गृहमन्त्री अर्यालको भनाइ थियो ।

२०६४ सालसम्म संसद्को बैठक सिंहदरबारस्थित पुतली बगँैचामा रहेको भवनमा बस्दै आएको थियो । संविधान सभा सदस्यको सङ्ख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद्को बैठक बस्दै आएको थियो । जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट नयाँ बानेश्वरस्थित संसद् भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकको सभाकक्षको अभाव भएको हो । नयाँ बानेश्वरको भवनको भाडाबापत संसद् सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपियाँ बुझाउँदै आएको छ । 

करिब पाँच अर्ब रुपियाँ लागतमा सिंहदबारपरिसरमा संसद्को नयाँ भवन निर्माण भइरहेको छ । भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुण्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गर्नुभएको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्ष बितिसक्दासम्म पनि काम सम्पन्न हुन सकेको छैन । संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत पुगेको छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०८२ आइतवार - ०७:५०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology